लुम्बिनी प्रदेश : मुख्यमन्त्रीको राजीनामासँगै आजको बैठक अन्यौलमा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश सभा बैठक बस्ने नबस्ने अन्यौल भएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध परेको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश गर्ने र त्यस विषयमा छलफल गर्न आजको लागि प्रदेशको विशेष अधिवेशन बोलाइएको थियो ।

तर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै बैठक बस्ने वा नबस्ने विषयमा छलफल भइरहेको प्रदेश सभा सचिवालयका प्रवक्ता हरिहर पोख्रेलले लोकपथलाई जानकारी दिए ।

‘बैठक बस्ने वा नबस्ने भन्ने विषयमा छलफल भइरहेको छ । तर बैठक बस्ने सम्भावना भने कम रहेको छ ।’ उनले लोकपथसँग भने ।

त्यस्तै आज नै मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा स्वीकृत भएसँगै अर्को सरकार गठन भएसम्मका लागि त्यहि मन्त्रिपरिषद्लाई नै निरन्तरता दिने निर्णय भएको पनि उनले बताए । उनले भने- ‘अर्को निर्णय नहुँदासम्मका लागि यहि मन्त्रिपरिषद्लाई नै निरन्तरता दिने निर्णय भएको छ ।’

मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । यसैबीच मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदहरुलाई मन्त्री समेत बनाइसकेका छन् ।

यो पनि पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?