महामारीमा भेटिएका मनकारी मनहरु : असहायलाई निशुल्क एम्बुलेन्स

काठमाडौं । काठमाडौं उपत्यकामा तीव्र रुपमा फैलिएर नियन्त्रणबाहिर पुगेको कोरोना भाइरसको दोस्रो महामारीका कारण यतिबेला अक्सिजन र संक्रमितको लागि एम्बुलेन्स, अस्पतालमा बेडसमेत पाउन मुस्किल भइरहेको अवस्था छ ।

अस्पतालका आँगनमा राखेर समेत बिरामीलाई अक्सिजन दिनुपरेको दृश्यहरु सार्वजनिक भइरहेका छन् ।

यस्तोमा निशुल्क एम्बुलेन्स सेवा र सहजीकरण गर्नको लागि कसैको साथ मिल्नु भनेको भगवान को साक्षात् स्वरुप भेटिनु जस्तै हो ।

यसैबीच यहाँ हामी तपाईलाई तिनै मनकारी व्यक्ति र तिनका सम्पर्क नम्बर उपलब्ध गराउँदै छौँ ।

हुनेखाने, पहुँच पुगेकाहरुको समेत ओठमुख सुकाएको यस महामारीमा केहि व्यक्ति तथा संस्थाले गरिब, दुःखी अनि असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । कोरोनाको नयाँ भेरीयन्टको महामारीबाट उनीहरुलाई जोगाउन यस्तो सेवा दिन लागिएको हो ।

यी हुन् निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यक्ति तथा संस्थाहरु :

ओम समाज डेन्टल हस्पिटल
बिराज समाज
क्याप्टेन विजय लामा
पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल
कर्णबहादुर शाही
अधिवक्ता संजय राज अधिकारी
पर्यटन व्यवसायी रामहरि शर्मा
ज्ञानेन्द्र शाही
कलाकार निखिल उप्रेती
कलाकार केदार घिमिरे

शनिवारबाट शुरु गरिएको अभियान देशभर पुर्याउने योजना रहेको कलाकार निखिल उप्रेतीले लोकपथलाई जानकारी दिए । शुरुमा १०/११ जनाले रकम संकलन गरेर अभियान शुरु गरिएको र सार्वजनिक रुपमा कसैसँग नमाग्ने तर स्वविवेकले सहयोग गर्न चाहनेहरुले सहयोग उपलब्ध गराउन सक्ने उनले बताए ।

‘हामीले शुरुमा १०/११ जना जतिले आर्थिक संकलन अभियान थाल्यौँ । हिजो एउटा एम्बुलेन्स बिरामी बोक्नका लागि तयार गरेका छौँ । भोलिका दिनहरुमा त्यसलाई बढाउँदै लैजाने योजना छ । सम्भवत भोलिसम्ममा ३/४ वटा एम्बुलेन्स हामीलाई उपलब्ध हुनेछ ।’ उप्रेतीले लोकपथसँग भने ।

उक्त अभियान काठमाडौं उपत्यकाका लागि सञ्चालनमा ल्याइएको हो । जोसँग अस्पताल जानका लागि समेत पैसा छैन उनीहरुका लागि सुविधा दिनका लागि उक्त सेवा शुरुवात गरिएको हो ।

‘जो सँग अस्पताल जाने समेत पैसा छैन उनीहरुलाई सुविधा दिनका लागि यसको शुभारम्भ गरेका हौँ । यस कार्यमा गरिब, दुःखी असहाय वा एम्बुलेन्स सुबिधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिको लागि सेवाको भावले पूर्ण सहयोग गरि सम्भव भएसम्म अस्पताल पुर्‍याउँछौँ ।’ उनले लेकपथसँग भने ।

भोलिका दिनहरुमा यसलाई अझ बढाउँदै देशका अन्य स्थानमा समेत यस्तो अभियान सञ्चालन गर्न सकिने उनको भनाइ रहेको छ । यदि अन्य जिल्लाहरुमा समेत यसरी समूह बनाएर कोहीले सहयोग गर्न चाहेमा हामी उहाँहरलाई समेत अग्रसर गराउँनेछौँ । उप्रेतीले लोकपथसँग भने ।

त्यसैगरी सो समूहले अनिवार्य उचित तरिकाले मास्क लगाउन, स्वास्थ्य मापदण्ड पालना गर्न, नआत्तिन, मनोबल उच्च राख्न, अफवाह नफैलाउन समेत अनुरोध गरेका छन् ।

यस अभियानमा सहयोग गर्न तत्काललाई इन्द्र अन्नपूर्ण लायन्स , बिराज समाज, क्याप्टेन विजय लामा, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,कर्णबहादुर शाही, डा सुभाष घिमिरे, अधिवक्ता संजय राज अधिकारी , पर्यटन व्यवसायी रामहरि शर्मा, ज्ञानेन्द्र शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे, तथा देवेन्द्र प्रधानले जनही १५ हजार उपलब्ध गराएका छन् ।

स्वास्थ्यकर्मी जिता बराल, मुना साधना विश्वकर्मा, निर्मल कार्की तथा चालक तेन्जिङ तामाङको टिमले बिरामीलाई एम्बुलेन्समार्फत् अस्पतालसम्म पुर्‍याउन आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बताइएको छ । यसका लागि सम्पर्क नम्बरहरु ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ तोकिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?