काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक नागरिक उड्डयान मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री ढकालले आफूहरुमा आज कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनका अनुसार हाल दुवैको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बताएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेतना अपनाउन आग्रह गरेका छन् ।
उनले भने- ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।‘
यसअघि मन्त्री ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कोरोना रोकथाम तथा नियन्त्रणमा उचित काम गर्न नसकेको र विवादित अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।
यसअघि शनिवार पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया