काठमाडौं। इन्टर मिलानले २०२०/२१ को सिरी-ए उपाधि जितेको छ। आइतवार साँझ एटलान्टाले सासुओलोसँग १-१ गोलको बराबरी खेल खेलेपछि इन्टरको उपाधि पक्का भएको हो।
३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा रहेको इन्टरलाई केवल १ जितको आवश्यकता थियो। दोस्रो स्थानमा रहेको एटलान्टाले आजको बराबरी पश्चात ३४ खेलमा ६९ अंक बनाउँदा इन्टरले ४ खेल अगावै उपाधि जितेको हो।
मुख्य प्रशिक्षक एन्टनियो कोन्टेको निगरानीमा इन्टरले गतवर्ष उप-विजेतामा चित्त बुझाउनु परेको थियो। त्यस्तै युरोपा लिगको फाइनलमा पनि इन्टर सेभियासँग स्तब्ध भएको थियो।
तर यो वर्ष इन्टरले छुट्टै इतिहास रचेको छ। साविक विजेता युभेन्टसको लगातार ९ वर्षको उपाधि यात्रामा इन्टरले पूर्णविराम लगाएको छ। सन् २०१० मा अन्तिम पटक सिरी-एको उपाधि जितेको इन्टरले ११ वर्ष यता कुनै उपाधि जितेको थिएन।
यो इन्टर मिलानको १९औं सिरी-ए उपाधि हो। आफ्नो मुख्य प्रतिद्वन्दी एसी मिलानको १८ सिरी-ए उपाधिलाई उछिन्दै इन्टर इटालीमा युभेन्टसपछि सर्वाधिक लिग विजेता बन्न पुगेको छ। युभेन्टसको ३६ लिग उपाधि रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया