काठमाडौं। गए राती खेलिने भनिएको म्यानचेस्टर युनाइटेड र लिभरपुलबिचको खेल हालकोलागि स्थगित भएको छ। युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्डमा’ घरेलु टोलीका समर्थकले आफ्नो क्लबका मालिक ‘गलेजर्स परिवार’ विरुद्ध तिब्ररुपमा नारावाजी गरेपछि खेल समयमा शुरू हुन सकेन।
टिम होटल अगाडि शुरू भएको विरोध मैदान नै प्रवेश गरेपछि खेल स्थगित भएको हो। क्लबको युरोपियन सुपर लिगसँगको संलग्नताले युनाइटेड समर्थक निराश देखिन्थे। सुपर लिग खारेज भएसँगै समर्थकहरू केही समयदेखि उत्तेजित भएका थिए। फलस्वरूप, आइतवार आफ्नो प्रमुख प्रतिद्वन्दी लिभरपूलसँगको खेल अगाडि हजारौं युनाइटेड समर्थकले ‘गलेजार्स आउट’ भन्ने नाराकोसाथ मैदान नै प्रवेश गरेर विरोध प्रदर्शन गरे।
हुन त ग्लेजर्स र युनाइटेडका समर्थकबिच सम्बन्ध चिसिएको धेरै भइसकेको थियो तर आगोमा तेलको काम युरोपियन सुपर लिगले गर्यो।
प्रिमियर लिगले शुरूमा युनाइटेड र लिभरपुलको खेलको ‘किकअफ’ समयमा केही ढिलाई हुने घोषणा गरेता पनि सुरक्षाका कारणले खेल स्तगित नै गर्नु परेको जानकारी दियो। दुवै टोलीले सार्वजनिक सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने कुरामा सहमति देखाएपछि खेल स्थगित भएको हो।
यसका साथै खेलको नयाँ मिति भने तोकिएको छैन। त्यस्तै म्यानचेस्टर सिटीले पनि प्रिमियर लिग उपाधि जित्न कम्तीमा एक साता कुर्नुपर्ने भएको छ। यदि आइतवारको खेलमा लिभरपुलले युनाइटेडमाथि जित निकालेको भए सिटीले स्वतह उपाधि जित्ने थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया