काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने २ हजार ६ सय ८६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमवार बिहान १० बजेसम्म २ हजार ६ सय ८६ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले लोकपथलाई जानकारी दिए।
नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर सचेतना कक्षा लिएर छोड्ने गरेको एसपी राठौंरले बताए । त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ७ सय ६४ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
यस्तो छ निषेधाज्ञा शुरु भएदेखी निषेधाज्ञा उल्लंघन गर्नेहरुको विवरण :
निषेधाज्ञाको पहिलो दिन १६ गत (बिहिवार) को विवरण
-२ हजार ३९ सवारी
-२ हजार ५ सय ३८ मानिस
निषेधाज्ञाको दोस्रो दिन १७ गते (शुक्रवार) को विवरण
-२ हजार २ सय ७८ सवारी
-४ हजार २ सय १९ मानिस
निषेधाज्ञाको तेस्रो दिन १८ गते (शनिवार) को विवरण
-१ हजार ६ सय ७७ सवारी
-३ हजार ७ सय २४ मानिस
निषेधाज्ञाको चौंथो दिन १९ गते (आइतवार) को विवरण
-२ हजार ८ सय ९८ मानिस
-१ हजार ३ सवारी
होल्डिङ सेन्टरमा परे के हुन्छ ?
काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसहरलाई होल्डिङ सेन्टरमा राखिने व्यवस्था छ । नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर राखिन्छ र सचेतना कक्षा लिएर छोड्ने गरिएको छ ।
सवारीको हकमा सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइ ड्राइभरलाई होल्डिङ सेन्टरमा र नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ ७ बजेपछि मात्र छोड्ने गरेको छ ।
मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया