काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (सोमवार) हुने खेलमा कोलकाता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन्। भारतमा कोभिड-१९ को दोस्रो लहरले आक्रान्त मच्चाइरहेको बेला बैंगलोरको टोली आजको खेलमा विशेष ‘निलो’ जर्सी लगाएर मैदान प्रवेश गर्ने भएको छ।
यो किन भन्दा, आजको निलो जर्सी लिलाम प्रक्रियाबाट बिक्री गरेर बैंगलोरको टोलीले भारत सरकारलाई कोरोनाविरुद्धको लडाईंमा केही सहयोग गर्न चाहन्छ। कप्तान विराट कोहलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। आजको विशेष जर्सीमा बैंगलोरका सबै खेलाडीले दस्तखत गरेपछि सो जर्सी लिलामीमा राखिनेछ। र सो रकम कोरोनाको उपचारमा लगाइनेछ।
कोलकाता नाईट राइडर्सको कुरा गर्ने हो भने, यस आईपीएलमा कोलकाताको माथिल्लो पंक्तिले निराशाजनक ब्याटिङ गरेको अवस्था छ। ओपनरद्वय नितिश राना र शुबमन् गिलको स्ट्राइक रेट (११९.३३) यस संकरणकै अप्रत्याशिलो प्रद्रशनी हो। तर, पछिल्ला केही खेलमा कोलकाताका विस्फोटक ब्याट्सम्यान आन्द्रे रसल पुरानो फर्ममा फर्किएका छन् र यो विपक्षी टोलीकोलागि कत्तीको घातक हुनसक्छ, हामी सबैलाई अवगतै छ।
उता १० दिन अगाडिसम्म मजबूत देखिएको बैंगलोरलाई चेन्नईका जडेजा र पंजाबका ब्ररले ‘रियालिटी चेक’ दिएका छन्। स्पिनरका सामु बैंगलोरको ब्याटिङ यूनिट खलबलाएको छ। कोलकाताका सुनिल नरैन र वरुण चक्रवर्ती यसको भरपुर फाइदा उठाउन चाहन्छन।
दुवै टोलीको आ-आफ्नै समस्या र ताकत् छन्। कुन टोलीले खेलमा सन्तुलन कायम राख्नसक्छ भन्ने प्रश्न मात्र हो, जसको जवाफ आज नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे शुरु हुने खेलले आँफै दिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया