लुम्बिनीको रोचक राजनीति : एमालेमै फर्किए सांसदद्वय शाही र श्रीवास्तव

काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले पुनः मुख्यमन्त्री शंकर पोखरेलाई नै साथ दिने भएका छन् ।

आइतवार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै सरकारमा नबस्ने भनेको उनीहरु सोमवार आफूहरुले मुख्यमन्त्रीको साथ छोड्न नचाहेको बताए ।

गत २०७४ सालमा एमालेको सूर्य चिन्हबाटै चुनाव जितेका अजय शाही र धर्म बहादुर लाल श्रीवास्तवले आफूहरुले मुख्यमन्त्रीको साथ छोड्न नचाहेको बताए ।

आइतवार लुम्बिनी माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीले आफ्नो पक्षमा ४२ सांसद रहेको दाबीसहित शाही र श्रीवास्तवको समेत आफूलाई समर्थन रहेको बताएका थिए । तर आज संयुक्त विज्ञप्ति जारी गर्दै सांसदद्वयले केसी लगायतले वदनियतपूर्ण ढंगले आफूहरुको हस्ताक्षर प्रयोग गरेको समेत बताएका छन् ।

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्- “२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हमा निर्वाचित प्रदेशमा सदस्य हौँ । सूर्य चिन्हबाट प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेश सभा संसदीय दलप्रति प्रतिवद्ध छौँ । नेकपा एमाले संसदीय दलप्रति प्रतिवद्ध हुनु कानूनी राजनैतिक रुपमा स्वभाविक विषय हो । माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाव्मा हाम्रो हस्ताक्षर गर्नु वदनियत र त्रुटिपूर्ण छ । हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिवद्ध रहँदै संसदीय दलको नेता माननीय मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छौँ ।”

त्यसो त आइतवार मात्रै लुम्बिनी प्रदेशको राजनीतिमा नाटकिय ढंगले फेरवदल आएको छ । दिउँसोको लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएकोमा एकाएक मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरुलाई चकित बनाउँदै राजीनामा दिएर नैतिकता देखाएका मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भए । माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका दलहरुले सपथ नगराउन प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिँदा दिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी फिल्मीशैलीमा सपथ ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?