कमला अर्याल/ काठमाडौं
कोरोना भाइरस‘कोभिड १९’ का कारण नेपाली सुन बजार पूर्ण रुपमा प्रभावित भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुन व्यवसाय मृत्यु शैयामा पुग्ने व्यवसायीले आँकलन गरेका छन् ।
अघिल्लो वर्षको फागुनमा शुरु भएको कोरोना सक्रमणका कारण सरकारले लकडाउन गरेपछि सुन बजार पूर्ण रुपमा प्रभावित भएको थियो । गत वर्षको साउनपछि सरकारले लकडाउन खुकुलो गरेसँगै केही महिना मात्रै खुलेको सुन बजार फेरी प्रभावित भएको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै सरकारले सोमवारसम्म देशका ४१ जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ । सरकारले अत्यावश्यक बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गरेको छ । जसले गर्दा विलासीताका वस्तुमा पर्ने सुन बजार अहिले पूर्ण रुपमा प्रभावित भएको छ ।
९० प्रतिशतले घट्यो बजार
२०७६ चैत ११ गतेदेखि देशैभरी लकडाउन भएपछि पूर्ण रुपमा प्रभावित भएको सुन बजार यो वर्ष पनि मारमा परेको छ । कोरोना कहरकै वीचमा केही समय खुलेको सुन बजारले मुस्किलले १० प्रतिशत मात्रै कारोबार गर्न सक्यो । लकडाउन भएयता सुन बजारमा ९० प्रतिशतले गिरावट आएको छ । मुस्किलले १० प्रतिशतले मात्रै कारोबार गरेका सुन व्यवसायीले कालीगढको ज्याला र घर भाडा मात्रै मुस्किलले धान्न सकेका छन् । सामान्य अवस्थामा बिहेको लगनका बेला सुनको माग ५०देखि ६० किलोको हाराहारीमा हुन्छ । तर कोरोनापछि खुलेको बजारमा सुन पहिलेको तुलनामा विक्री भएन । किनकि कोरोना संक्रमणका कारण कयौँ कामदारहरुको रोजगारी गुम्यो भने कयौँको तलब सुविधा कटौती भयो । जसका कारण उपभोक्ताको क्रय शक्तिमा ह्रास आयो ।
आम मानिसलाई हातमुख जोर्न समस्या भइरहेका बेला विलासीको वस्तुका रुपमा रहेको सुन किन्ने क्षमता भएन । त्यसैले पनि सुन बजारमा दिनानु दिन ह्रास आउँदै गयो । त्यसका साथै कोरोनाकै वीचमै केहि समय बजार खुले पनि सरकारले सुनको कोटा नबढाएका कारण राम्रोसँग कारोबार गर्न नपाएको सुन व्यवसायीको गुनासो छ । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार संकटका बेला खुलेको व्यवसायलाई सरकारले सहयोग नगरेको बताउँछन् ।
लगनका लागि समयमा सुन उपलब्ध नहुँदा कारोबार गर्न नपाएको शाक्यको भनाई छ । वैशाखमा विवाहको लगन । त्यसका लागि एक/दुई महिना अघिदेखि नै गरगहनाको अर्डर आउने गर्छ । तर सरकारले कोटा नबढाएका कारण लगनका बेला प्रशस्त गरगहना बनाउन नपाएको पूर्व अध्यक्ष शाक्यको भनाई छ । सरकारले सुन बजारको माग र आपूर्तिको सिस्टम नबुझेका कारण पनि सुन बजारले मार खेप्नु परेको शाक्यको गुनासो छ ।
अर्डरका गहना बनाउन भ्याइ–नभ्याई
वैशाखमा विवाहको लगन भएकाले एक/दुई महिना अघिदेखि नै नयाँ गरगहनाका लागि अर्डर आएको थियो । अहिले बजार पूर्ण रुपमा बन्द छ । तर कालीगढले घरमै गरगहना बनाइरहेका छन् । व्यवसायीलाई घरमै गरगहना बनाउन भ्याइनभ्याई भए पनि निषेधाज्ञाका कारण ग्राहक गरगहना लिन आउन नसक्ने तथा व्यवसायीहरु पनि पु¥याउन जान नसक्ने अवस्था भएको शाक्यको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा आकाशिँदै मूल्य
अघिल्लो फागुनमा कोरोना भाइरसको संक्रमण देखिएपछि अर्थतन्त्रका सबै क्षेत्रहरु निकै प्रभावित भएका थिए । त्यतिबेला सबै लगानीका क्षेत्र प्रभावित भएका कारण लगानीकर्ताहरु सुन लगानीमा आकर्षित हुँदा सुनको मूल्य एक्कासी बढेको थियो । गत साउनदेखि बजार अलि सहज हुन थालेपछि सुनको भाउ पनि केही घटेको थियो । तर कोरोनाले अर्थतन्त्रका क्षेत्रमा पु¥याएको क्षति पूर्ति गर्न नपाउँदै फेरी दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार कोरोना विरुद्धको भ्याक्सिन बने पनि भ्याक्सिन बनाउने देश आँफैलाई नपुग्नु समस्याको रुपमा देखिएको छ । पहिलेको तुलनामा अहिलेको कोरोना भाइरसले तीब्र आक्रमण गरिरहेको अवस्थामा औषधी बनाउने वैज्ञानिकहरु पनि अन्यौंलमै छन् । पहिलेको कोरोनालाई हेरेर बनाइएको भ्याक्सिनले पछिल्लो कोरोनाको संक्रमण रोक्न नसक्ने भएकाले झन भयाबह हुने पूर्व अध्यक्ष शाक्यको भनाई छ । त्यसैका कारण पन अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण सुनमा आकर्षित हुँदा सुनको मूल्य हरेक दिनजसो बढेको उनको भनाई छ ।
त्यस्तै,अमेरिकी डलर बलियो हुँदै गएको छ । जसुले गर्दा भातीय रुपैयाँ कमजोर भएको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा पर्दा नेपाली रुपैँया कमजोर हुँदै गएको छ । लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा विश्वका मुलुकहरु सुन आयात गर्ने र स्टक राख्ने गर्न थालेका छन् । त्यसैले सुनको भाउ फेरी बढ्न थालेको हो ।
कति पुग्ला सुनको भाउ ?
त्यसैगरी सोमवारको तुलनामा मंगलवार सुनको मूल्य २ सयले वृद्धि भइ ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको छ । अहिले नेपाली बजारमा सुनको भाउ कतिसम्म पुग्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सोमवार सुनको भाउ ९० हजार ४ सय थियो । अघिल्लो दिन ९० हजारमा कारोबार भएको सुन कोरोना संक्रमण यसैगरी बढ्यो भने आगामी साउन/भदौ ताका प्रतितोला १ लाख नाघ्ने महासंघको आँकलन छ । अघिल्लो फागुमा कोरोना संक्रमण देखिाएपछि सुनको भाउ १ लाख रुपैयाँ नाघेको थियो । आगामी छ महिनाको अन्तरालमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस २१ सय डलर सम्म पुग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया