डोटी । जिल्लामा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा सदरमुकाम भन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना संक्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।
बागलुङमा आजदेखि निषेधाज्ञा
बलेवा– कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।
समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।
संक्रमित जनप्रतिनिधिको मृत्यु
बागलुङमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । उहाँ गाउँ कार्यपालिका सदस्य रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया