धनगढी । दोस्रो भेरियन्टको कोरोनाले सुदूरपश्चिमका अस्पतालहरु भरिएपछि कैलालीमा पाँच सय शैयाको आईसोलेसन बनाउने तयारी थालिएको छ।
कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको नवनिर्मित भवनमा ५ सय शैयाको आईसोलेसनको तयारी शुरु गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
संघीय सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिमको महामारी फोकल पर्सन तोकेपछि सोमवारदेखि नै आईसोलेसनको लागि तयारी थालिएको हो।
हाल मन्त्री भट्ट धनगढी पुगेका छन्। उनले गेटा मेडिकल कलेजको नवनिर्मित भवनको निरीक्षण गरी त्यहाँ तुरुन्तै पाँच सय शैयाको आईसोलेसन सेन्टर स्थापना गरिने बताए।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसिसिएमसी) को मातहत रहने गरी कलेजमै पाँच सय शैयाको आईसोलेसन निर्माण हुन लागेको हो।
गेटा मेडिकल कलेजमा तीन सय शैयाको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युतको आपुर्ति गर्ने बित्तिकै त्यसलाई आईसोलेशनका रुपमा सञ्चालनमा ल्याउन सकिने कैलाली प्रशासनले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिकामा पर्ने उक्त मेडिकल कलेजमा स्थापना हुने आईसोलेसन व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइनेछ। ‘त्यहाँको सबै ब्यवस्थापन धनगढी र गोदावरीले गर्ने गरी छलफल भएको छ, दुवै स्थानीय तहका मेयरहरु पनि त्यसका लागि तयार छन्, सोमवारको छलफलमा उनीहरुले युद्धस्तरमा काममा खटिने जनाएका छन्’ वाणिज्य तथा आपुर्ति मन्त्रीका स्वकीय सचिव हितेश ओझाले भने।
मन्त्री भट्टले नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई सोमवार बोलाएर त्यहाँ तुरुन्त विद्युत आपुर्तिका लागि निर्देशन दिए। खानेपानी लागि पनि नजिकै पुगेको अत्तरिया खानपानीको पाइपलाइन जोडिने भएको छ। आईसोलेसन सेन्टरका लागि चाहिने आईसीयु, भेन्टीलेटर, शैयाहरु, अक्सिजन जस्ता सामाग्रीको तुरुन्त सप्लाईका लागि एक्सन टीम बनाएर काम गरिने स्वकिय सचिव ओझाले बताए।
ओझाले भने, ‘मंगलवारसम्म यी सबै उपकरणको ईष्टीमेट आउँछ, त्यसमध्ये नेपालमा उपलब्ध भएका र बाहिरबाट मगाउने उपकरणहरुका बारेमा पनि पहल हुन्छ।ु
मन्त्री लेखराज भट्टले संघीय अर्थमन्त्री, शिक्षा तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग यसबारेमा छलफल भइसकेको बताए। शिक्षा मन्त्रालयले डीसिसिएमसीलाई आईसोलेसन अवधिका लागि मेडिकल कलेजको भवन प्रयोग गर्ने स्वकृति दिई सकेकोछ। ‘स्वास्थ्य मन्त्रालयले आईसोलेसनमा चाहिने चिकित्सकहरुको व्यवस्थापन गर्छ, त्यहाँका लागि छुट्टै स्वास्थ्यकर्मीको टीम हुन्छ, स्टाप नर्ससहितका प्यारामेडिक स्टापका लागि गोदावरी नगरपालिका र धनगढी उपममहानगरपालिकाले करार सेवामा लिने गरी तयारी गरेका छन्’ मन्त्री भट्टले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया