युईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी फाइनलबाट मात्र एक कदम टाढा

काठमाडौं।  म्यानचेस्टर सिटीको आँखा इस्तानबुलको ‘आतातुर्क’ स्टेडियममा गडेको छ । जहाँ यस संस्करणको च्याम्पियन्स लिग फाइनल खेलिंदै छ । त्यसको लागि सिटी आफ्नो घरेलु मैदानमा अन्तिम चुनौतीको सामना गर्न तयार देखिन्छ।

पेरिस सेन्ट जर्मेन् (पीएसजी) को घरेलु मैदानमा गत साता उत्कृष्ट फुटबल खेलेको सिटीले पहिलो लेग २-१ ले जितेको थियो। पहिलो हाफमा कप्तान मारक्विनोसको गोलबाट पछि परेको सिटीले दोस्रो हाफमा २ गोल फर्काएको थियो।

दुबै टोलीले गत सप्ताहन्तमा घरेलु लिगमा जित निकाले र आ-आफ्नो लिग उपाधिलाई बढुवा दिए।

फुटबलको पुरानो भनाई छ, ‘इट ट्रुली वाज ए गेम अफ टू हाभ्स’। गत साता ‘पार्क डे प्रिन्सेसमा’ यही दृश्य देखियो। खेलको पहिलो हाफ पीएसजीको पक्षमा गयो तर अन्तिम हाँसो पेप ग्वार्डियोलाले हाँसे।

खेलको मध्यान्तरमा पेपको, ‘पेप टकले’ मानौं जादु नै गरिदियो। सिटीले दोस्रो हाफमा अत्यन्तै सुन्दर खेलको नमुना पस्कियो। बेल्जियन सुपरस्टार केविन डे ब्राइनको प्रहारले जाली चुम्दा सिटी खेलमा फर्कियो।

त्यसपछि डे ब्राइनले फ्रिकिकको जिम्मा रियाद माहरेजलाई सुम्पिए। माहरेजले जिम्मेवारी पनि राम्रै तरिकाले पूरा गरे। पीएसजीको कडा वालको साँघुरो प्वालबाट फ्रिकिक छिराउँदै उनले सिटीलाई अग्रता दिलाए। नेइमार र एमबाप्पे सम्मिलित घरेलु टोलीले सिटीको दृढता सामु जवाफ भेटेन।

पछिल्ला ३ क्वार्टर फाइनलको पिडालाई दबाएर अघि बढेको सिटीको लक्ष्य ‘मे २९’ को इस्तानबुल उपाधिमा नै छ। इस्तानबुल त्यही स्थलहो जहाँ लिभरपुलले सन् २००५ मा एसी मिलानलाई हराउँदै ‘मिर्याकल अफ् इस्तानबुल’ हासिल गरेको थियो।

सिटीको टोलीमा एक व्यक्तित्व यस्ता छन्, जसका लागि च्याम्पियन्स लिगको उपाधिले आफ्नो खेल क्यारियर नै पूरा गर्नेछ। ती हुन् सर्जियो अग्वेरो। आफ्नो १० वर्ष म्यानचेस्टर सिटीलाई समर्पित गरेका अग्वेरोले सिटीसँग सबै उपाधि जितेका छन्, च्याम्पियन्स लिगलाई छाडेर। र यो सिजनको अन्त्यमा अग्वरोले म्यानचेष्टर सिटीसँगको यात्रामा पूर्णविराम लगाउँदै छन्। अग्वरोका लागि यसपालिको च्याम्पियन्स लिग उपाधि सबैभन्दा महत्वपूर्ण देखिन्छ।

पहिलो लेगमा मारक्विनोसले गरेका सिटी विरुद्धको गोल, यस च्याम्पियन्स लिग संस्करणमा सिटीले खाएको मात्र चौथौं गोल हो। र पोर्टो विरुद्धको गोलरहित बराबरी सिटीले गोल नगरेको एकमात्र खेल हो। सिटीले यस प्रतियोगिताका ११ खेलमध्ये १० मा जित हासिल गरेको छ।

तर पेप ग्वार्डियोलाको टोलीले अझै ९० मिनेटको समय सफलतापूर्वक पार गर्नुपर्नेछ, च्याम्पियन्स लिगको फाइनल पुग्न। इंग्लिश क्लबहरुको इतिहास हेर्ने हो भने, जब जब इंग्लिश क्लबले घर बाहिर पहिलो लेग जितेका छन्, तब तब उनीहरू अर्को चरण प्रवेश गरेका नै छन्। र यो ४७ चोटी भएको छ। फाइनल पुग्न नसकेको खण्डमा सिटीले अर्कै इतिहास रच्नेछ, जुन सिटी पटक्कै चाहँदैन।

इतिहास रच्ने नै हो भने सिटी सकारात्मक कुरामा रच्न चाहन्छ। पीएसजी विरुद्धको जितले सिटीलाई लगातार ७ च्याम्पियन्स लिग खेल जित्ने पहिलो इंग्लिश टोली बनाउनेछ। तर महत्वपूर्ण कुरा सिटीको लागि ‘स्कोरलाइन’ मात्र हुनेछ।

मौरिसियो पोचेटिनोको कुरा गर्ने हो भने च्याम्पियन्स लिगसँग उनको नराम्रा सम्झनाहरु धेरै छन्। यसको लागि खासै पछाडि जानु पनि पर्दैन। सन् २०१९ को फाइनलमा लिभरपुलसँग पराजित भएका पोचेटिनो भोको देखिन्छन्। र यो भोक सिटीलाई घरेलु मैदानमा हराउन काफी छ।

पोचेटिनोको टोलीले फेरि अर्को च्याम्पियन्स लिग फाइनलको सपना तुरुन्तै नदेख्दा राम्रो। गत संस्करणको उप-विजेताले ‘अवे’ मैदानमा खेल नजितेका पनि होइनन्। क्वार्टर फाइनलको पहिलो लेगमा पीएसजीले साविक विजेता बायर्न म्युनिकलाई म्युनिककै मैदानमा पराजित गरेको थियो। र यो गर्न पटक्कै सजिलो छैन। पीएसजीलाई सिटीको घरेलु मैदानमा सोही कुरा दोहोर्याउनु छ, त्यति मात्रै हो।

सिटीले यस सिजन ३ पटक घरेलु मैदान ‘एतिहादमा’ हार बेहोरेको छ। लेस्टर सिटी, म्यानचेष्टर युनाइटेड र लिड्स युनाइटेडले सिटीलाई आफ्नै घरमा हराएका छन्।

पोचेटिनोकालागि आशाको किरण बनेका छन् लिड्सका प्रशिक्षक मार्सेलो बिएलसा, जसलाई पोचेटिनो आफ्ना गुरु मान्छन्। गुरुले पेपलाई घरेलु मैदानमै हराउन सफल भइसकेका छन् र उनकै मार्गदिशामा चल्नेछन् पोचेटिनो।

गत सप्ताहन्तमा लेन्सलाई पराजित गर्दा नेइमार र कप्तान मारक्विनोसले गोल गरेका थिए। जसले सिटीविरुद्धको खेलमा पीएसजीको आत्मविश्वास बढाउने काम गर्नेछ। र इन्जुरीबाट फिर्ता आएका कीलियन एमबाप्पेले पीएसजीकोलागि सुनमा सुगन्ध थप्नेछन्।

पीएसजीको मनोबल बढाउने अर्को तथ्याङ्क पनि छ। पीएसजीले पछिल्ला १० अवे खेलमा सबैमा जित हासिल गरेको छ। जब कुनै टिम म्यानचेस्टर सिटीको घरेलु मैदान जान्छ, त्यो टोलीलाई यो सबै तथ्याङ्क महत्वपूर्ण नै हुन्छन्। आत्मविश्वास र हौसला दुई अस्त्र हुन् एतिहादमा जित हासिल गर्ने।

पोचेटिनोको पीएसजीले अहिले सम्मकै सर्वोत्कृष्ट फुटबल खेल खेल्नु पर्नेछ, म्यानचेष्टर सिटीलाई घरेलु मैदानमै पराजित गर्न। जब खेल २-१ ले सिटीकै पक्षमा छ, तब झन् अलिकति भाग्यको पनि साथ चाहिन्छ।

च्याम्पियन्स लिगको दोस्रो सेमी फाइनल खेल आज मध्यरात नेपाली समय अनुसार १२:४५ बजे म्यानचेष्टर सिटीको घरेलु मैदानमा खेलिंदै छ। सबै फुटबल प्रेमीहरु पहिलो मिनेट देखिनै आक्रामक फुटबल देख्न पाउने आशामा बसिरहेका छन्। यो कुरामा दुई मत पनि छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?