एनएसएल : बुटवललाई काठमाडौंको चुनौती, शीर्ष स्थान दाउमा

काठमाडौं ।  खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज एक खेल हुँदैछ। काठमाडौं रेजर्सको सामना गर्दैछ बुटवल लुम्बिनी एफसी।

दशरथ रंगशालामा बुटवल र काठमाडौं बिचको खेल साँझ ५:३० बजे शुरु हुँदैछ। आज बुटवल दोस्रो जित निकाल्ने योजना सहित मैदानमा उत्रने छ। अझै काठमाडौंलाई हराएको खण्डमा बुटवललाई शीर्ष स्थान नै प्राप्त हुनेछ।

३ खेलमा ५ अंक बटुलेको बुटवलले पहिलो खेलमा पोखरालाई पराजित गरेको थियो। त्यस्तै दोस्रो र तेस्रो खेलमा क्रमशः चितवन र विराटनगरसँग बराबरी खेलेको थियो।

उता काठमाडौं पनि बुटवललाई हराएर अंक तालिकामा सुधार गर्न चाहन्छ। अहिले काठमाडौं ३ खेलमा ४ अंक सहित पाँचौं स्थानमा छ। काठमाडौंले आफ्नो ३ खेलमा ललितपुर विरुद्ध जित, धनगढीसँग पराजय र पोखरासँग बराबरीको नतिजा निकालेको छ।

हिजो (सोमवार) खेलिएको खेलमा विराटनगरले चितवनलाई २-० गोलले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?