कोरोना नियन्त्रणमा सुदूरपश्चिम सरकारले थाल्यो तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार कोरोना रोकथामको तयारीमा जुटेको छ ।

सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयस्थित स्वास्थ्य निर्देशनालयले खरिद प्रक्रिया अघि बढाएको हो ।

निर्देशनालयले पाँच लिटर प्रति मिनेट क्षमताका ४० सेट र १० लिटर प्रति मिनेट क्षमताको ६० सेट कन्सन्ट्रेटर खरिद गरिने जनाएको छ । त्यसबाहेक १० लिटर क्षमताको दुई सय थान सिलिन्ड र ४६ लिटर क्षमताको तीन सय थान किन्न लागिएको निर्देशनालयले जानकारी दिएको छ ।

गेटामा होल्डिङ सेन्टरसहितको आइसोलेसन, सेनाको टोली खटाइयो

मंगलवारदेखि कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।

उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनका अनुसार होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण भइरहेको छ ।

तत्काललाई ५ सय बेडको आइसोलेसन बनाइन लागेको भएपनि गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको छ’ उनले भने ।

अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा ¥यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए ।

मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?