काठमाडौं। म्यानचेस्टर सिटी पहिलो पटक युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
आज बिहान सम्पन्न सेमी फाइनलको दोस्रो लेगमा सिटीले फ्रान्सेली क्याम्पियन पेरिस सेन्ट जरमेन् (पीएसजी) लाई २-० गोलले पराजित गरेको हो। सिटीको घरेलु मैदान ‘एतिहादमा’ रियाद माहरेजको व्यक्तिगत २ गोलले सिटीले विजयी प्राप्त गरेको हो। समग्रमा दुई लेग गरेर सिटीले पीएसजीमाथि ४-१ को जित निकाल्न सफल भयो। यसका साथै इतिहासमै पहिलो पटक इंग्लिश क्लब म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ।
सिटीको जितमा रियाद माहरेज पुनः नायक सावित भए। उनले खेलको ११औं मिनेटमा सिटीलाई अग्रता दिलाउन सफल भए। डि ब्राइनको प्रहार पीएसजीका कप्तान मारक्विनोसलाई लागेर फिर्ता आउँदा सोझै माहरेजको खुट्टामा पर्यो र उनले सिटीलाई अग्रता दिलाउन केही गल्ती गरेनन्।
खेलको दोस्रो हाफको ६३औं मिनेटमा माहरेजले सिटीको अग्रतालाई दोब्बर बनाए। सिटीको उत्कृष्ट ‘काउन्टर एटेकमा’ फिल फोडेनको पासलाई माहरेजले गोलमा परिणत गर्दा सिटीको अग्रता दोब्बर भएको हो। माहरेजले पहिलो लेगमा पनि सुन्दर फ्रीकिकबाट गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।
यसै बिच पीएसजीको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको छ। गत वर्षको उप-विजेता पीएसजी सिटी सामु निरिह देखियो। पीएसजीले खेलको ७औं मिनेटमा नै पेनाल्टी पाएको थियो तर ‘भीएआर’ले त्यसलाई खारेज गर्दा पीएसजीले गोल गर्न सकेन। अझै, खेलको ९० मिनेट भरि पीएसजीको एउटा प्रहार पनि टार्गेटमा थिएन। इन्जुरीबाट फिर्ता आएका एमबाप्पे बेन्चमै सिमित भए। नेइमार एक्लैले केहि पनि गर्न सकेनन्। पीएसजीको दुःख खेलको ६९औं मिनेटमा अझै थपियो। फरवार्ड एन्जल डी मारियाले आफ्नो सन्तुलन गुमाउन पुगे। उनले सिटीका मिडफिल्डर फर्नान्डिन्होमाथि दुर्व्यवहार गर्दा सिधै रातो कार्ड पाए। १० खेलाडीमा सीमित पीएसजीलाई सिटीले खेलमा फर्किने कुनै पनि मौका दिएन।
अब म्यानचेष्टर सिटीले आज हुने अर्को सेमी फाइनलको विजेतालाई ‘मे ३०’ मा हुने फाइनल खेलमा भेट्ने छ। आजको सेमी फाइनल खेलमा चेल्सी र १३ पटक च्याम्पियन्स लिग विजेता रियल मड्रिड चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया