काठमाडौं। पहिलो लेगको सेमी फाइनल खेलमा चेल्सीले रियल मड्रिडको अस्थायी घरेलु मैदान ‘एलफ्रेडो डि स्टेफानो’मा रोमाञ्चक शुरुवात गर्यो। इंग्लिश क्लब चेल्सीले स्पेनिश राजधानीमा १५औं मिनेटमै क्रिस्टियन पुलिसिचको गोल मार्फत अग्रता लिन सफल भएको थियो। रियलका स्ट्राइकर करिम बेन्जिमाले उत्कृष्ट बराबरी गोल फर्काए। बेन्जिमाको च्याम्पियन्स लिग फुटबलमा यो ७१औं गोल थियो। उनी युईएफए च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको चौथौं नम्बरमा पुग्न पनि सफल भए। र यो सबै खेलको आधि घण्टा भित्र नै भएको हो।
त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा चेल्सीले महत्वपूर्ण ‘अवे गोल’ लिएर लन्डन फर्कियो।
यी दुई टोली आज राती फेरि भेट्दै छन्। यस पटक चेल्सीको घरेलु मैदान ‘स्ट्यामफर्ड ब्रिज’मा। आज मध्यरातमा यी दुई टोली बिच सेमी फाइनलको दोस्रो लेग खेलिंदै छ।
चेल्सीले पहिलो लेगमा उत्कृष्ट नतिजा निकाल्यो। रियलको घरेलु मैदानमा बराबरी खेल खेलेर महत्पूर्ण ‘अवे गोल’ बटुल्नु चानचुने कुरा होइन। अब चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा पुग्न अर्को ९० मिनेट रियल मड्रिडलाई कम्तीमा गोलरहित बराबरीमा रोक्नु पर्नेछ। यो गर्नु पनि चानचुने कुरा होइन।
रियल मड्रिड र प्रशिक्षक जिनेदिन जिदानले यस्ता अवस्था धेरै देखेका छन्, र धेरै पटक यस्ता अवस्थाबाट सफलतापूर्वक निस्केका पनि छन्। यसै रियल मड्रिड १३ पटक च्याम्पियन्स लिग विजेता भएको होइन।
विश्वभर रहेका फुटबल प्रेमीलाई यो कुरा अवगत छ र आजको खेल सबैका लागि ‘मस्ट वाच गेम’ हुनेछ।
रियल मड्रिडको उपाधि रेसमा रफाएल भरानको इन्जुरीले ठूलो धक्का लागेको छ। रियलको रक्षापंक्तिको मुख्य पात्र हुन् भरान। तर दुःख संगसंगै सुखले पनि साथ दिएको छ रियललाई। यस पटक भने कप्तान सर्जियो रामोसको पुनरागमनबाट। इन्जुरीका कारण गत महिना लिभरपुल विरुद्धको दुबै खेल गुमाएका रामोस चेल्सी विरुद्धको दोस्रो सेमी फाइनलमा फर्किने लगभग तय छ। रामोस र च्याम्पियन्स लिग, भनिन्छ नि, ‘मेड फर इच अदर’, हो त्यही भन्दा गलत हुँदैन।
थोमस टूचलको चेल्सीले पहिलो लेगको कतिपय समयमा उत्कृष्ट फुटबल खेलको थियो। दोस्रो लेगमा पनि चेल्सीको टोलीबाट त्यही नै अपेक्षा राखिएको छ।
यो भेट यी दुई टोलीको चौथौं भेट हो। पहिलो लेगको बराबरी बाहेक अरु दुई खेल रियलको पक्षमा गएको छ।
यी दुई टोलीको सेमी फाइनल यात्रासम्म
चेल्सी
जित ७, ड्र २, हार १
सर्वाधिक गोलकर्ता : ओलिभियर जिरु (६)
क्वार्टर फाइनल : २-१ पोर्टो
अन्तिम १६ : ३-० एथ्लेटिको मड्रिड
समूह ई : विजेता
रियल मड्रिड
जित ६, ड्र ३, हार २
सर्वाधिक गोलकर्ता : करिम बेन्जिमा (६)
क्वार्टर फाइनल : ३-१ लिभरपुल
अन्तिम १६ : ४-१ एटलान्टा
समूह बी : विजेता
सर्जियो रामोसको पुनरागमन के चेल्सीको लागि घातक हुन्छ? की १३ पटक च्याम्पियन्स लिग विजेतालाई पराजित गर्दै इस्तानबुलको फाइनलमा दुई इंग्लिश टोली प्रतिस्पर्धा गर्छन्? प्रश्न धेरै छन् तर उत्तर भने एउटै, आजको खेल।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया