धनगढी । सुदूरपश्चिम प्रदेश सरकार कारोनाविरुद्धको लडाईमा सक्रिय बनेको छ ।
प्रदेशमा सक्रमण बढिरहेका बेला प्रदेश सरकारले करिब साढे चार सय जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको हो ।
रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि सुदूपश्चिम प्रदेश सरकार मन्त्री परिषद्को बैठकले दरबन्दी स्वीकृती गरेको मूख्यमन्त्री कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागी निर्देशन दिइसकेको सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले बताए । मन्त्री सुवेदीले भने,‘कोभिड–१९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्, हामीले जनशक्ती भर्ना मात्रै होइन, अस्पताललाई आवश्यक पर्ने प्रविधी तथा अक्सिजन खरिदको प्रक्रिया पनि थालेका छौँ ।’
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने चार सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पतालाई अनुमती प्रदान गरि सकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको नेतृत्वको टोलीले धनगढीस्थित मालिका अक्सिजन ग्याँस उद्योगको बुधवार अनुगमन गरेको छ । सामाजिक विकास मन्त्री सुवेदीले उद्योगको अनुगमन गर्दै पुरा क्षमता अनुसार अक्सिजन ग्याँस उत्पादन गर्न निर्देशन दिए ।
मन्त्री सुवेदीले भने,‘उद्योग सञ्चालन गर्न कठिनाई भए हामीलाई भन्नुहोस, हामीले के सहयोग गर्नुपर्छ गर्छौ । तर, अस्पताललाई आवश्यक ग्याँस उपलब्ध गराउनुहोस् । ग्यास सञ्चालनका लागि पेस्कि रकम, जनशक्तिको व्यवस्थापन, विधुतिय समस्या लगायतका समाधान गर्न मन्त्रालयले साथ छ।’ सरकारि अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुपर्ने उनले बताए ।
सेती अस्पतालद्वारा सेवा निबृत्त चिकित्सकहरुलाई उपचारमा सहयोग गर्न अपील
सेती प्रादेशिक अस्पतालले सेवा निबृत्त चिकित्सकहरुलाई उपचारमा सहयोग गर्न अपिल गरेको छ । अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सार्वजनिक सूचना जारी गर्दै सेवा निबृत्त चिकित्सकहरुलाई विपदको अवस्थामा उपचारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले अस्पतालमा आएर अन्य व्यवस्थापकीय सहयोग गर्न पनि आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया