काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
ओली आफ्नो सरकार लम्ब्याउने जोड घटाउमा लागेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष ओलीलाई विश्वासको मत नदिने र संसदमा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा छन् । ठूला दलहरुको मात्रै चर्चा भइरहँदा संसदमा प्रतिनिधित्व गर्ने साना दलहरु भने के गर्दै छन त ?
संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १,राष्ट्रिय जनमोर्चाका १ र नेपाल मजदुर किसान पार्टीका १ जना गरी साना दलका ३ जना सांसद छन् । विश्वास र अविश्वास दुवैको लागि साना दलको मत महत्वपूर्ण हुन सक्छ । साना दलले प्रधानमन्त्री ओली कि विपक्षी गठबन्धन कसलार्इ समर्थन गर्लान त ? यो हेर्न बाँकी छ । साना दलमा पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ भने कुनै दलले खुलेरै समर्थन नगर्ने बताएका छन् ।
साना दलको भूमिका
साना दलको भूमिका पनि कति महत्व छ भन्ने गण्डकी प्रदेश सभामा देखिसकेको छ ।
राष्ट्रिय जनमोर्चाका एक जना सांसद अनुपस्थिती हुँदा अविश्वास प्रस्ताव टुंगो लाग्न सकेन । संघीय संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेको अवस्थामा साना दल पनि निर्यायक हुन सक्छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१, नेपालली कांग्रेसका ६३ जना (२ जना निलम्बित), माओवादी केन्द्रका सभामुख सहित ४९ (५३ जनामा ४ जना एमालेमा गएपछि सांसद पद खारेज) जना र जनता समाजवादी पार्टीका ३४ जना (दुई जना निलम्बित) छन् । ३ जना साना दलबाट छन । हाल संसदमा रहेको संख्याका आधारमा सरकार बनाउन १ सय ३६ जना सांसद चाहिन्छ ।
माओवादीका सांसदको पद नगएको भए सरकार बनाउन १ सय ३८ सांसदको आवश्यकता रहन्थ्यो । प्रधानमन्त्री ओली र विपक्षीलाई सरकार बनाउन साना दलको योगदान महत्वपूर्ण हुन सक्छ । तर साना दलप्रति कसैले चासो भने दिएका छैनन् ।
के भन्छन् साना दल ?
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधि सभा बिघटन गर्ने, आफ्नै पार्टी एमालेलाई ध्वस्त पार्ने र विभिन्न पार्टीका सांसदलाई सत्ताको लोभ देखाएर राजनीतिलाई अस्तब्यस्त पार्न खोज्ने ओलीलाइ विश्वासको मत नदिने बताउँछन् ।
अध्यक्ष केसी भन्छन्- ‘ओलीलाई बिपना त के सपनामा पनि समर्थन गर्न सकिदैन् ।’
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहन श्रेष्ठ पार्टीले अहिले केही पनि निर्णय नगरेको र उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताउँछन् । तर राप्रपाको भित्री मनसाय भने जसले चाँडो निर्वाचनमा जाने निर्णय गर्छ त्यसैलाई मत दिने भन्ने छ । नेमकिपाले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया