काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा जुम्लामा निर्माण भएको जलविद्युत प्लान्टको उद्घाटन गरिएको छ ।
बुधवार एक कार्यक्रमकाबीच भारतीय दूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निमाण प्रभाग) करुण वंशल र जिल्ला समन्वय समिति जुम्ला र नेपाल विद्युत प्राधिकरण जुम्लाबीच भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो ।
उक्त विद्युत प्लान्ट निर्माणका लागि भारत सरकारले २ करोड ६३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।
उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनर्स्थापना गरिएको हो ।
जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २०,००० मानिसहरु यस प्लान्टबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।
भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया