भारतमा कोरोना : एकै दिन ४ हजारको मृत्यु, थपिए ४ लाख १२ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले बिहीवार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।

भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधवार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?