निषेधाज्ञासँगै घट्यो तरकारी र फलफूलको मूल्य : राहत महशुस गर्दै उपभोक्ता

कमला अर्याल /काठमाडौं –

सरकारले गरेको निषेधाज्ञाका कारण तरकारी तथा फलफूलको मूल्य क्रमिक रुपमा घट्न थालेको छ ।

वैशाखको सुरुवाततिर आकाश छोएको तरकारी तथा फलफूलको मूल्य बिस्तारै घट्न थालेको हो । सरकारले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाबाट लाखौँ मानिस बाहिरीएपछि तरकारीको माग घटेसँगै मूल्य ओरालो लाग्न थालेको हो। निषेधाज्ञा लम्बिँदै गएपछि तरकारीको मूल्यमा ५० प्रतिशत गिरावट आएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा तरकारीको माग घटेकाले मूल्य पनि ओरालो लागेको हो।

हरियो तरकारी नाशवान भएकाले लामो समयसम्म स्टोर गरेर राख्न सकिँदैन। त्यसैले लगानी उठ्ने भएपछि बिक्री गरिहाल्नुपर्ने अवस्था हुन्छ। त्यसैले तरकारीको मूल्य घटेको हो । कम मूल्य आएपनि बिक्री नगर्ने हो भने कुहिएर नोक्सान हुन्छ । त्यसैले तुरुन्त बिक्री गरिहाल्नुपर्ने हुन्छ उपत्यकामा सामान्य अवस्थामा दैनिक ८ सय टन तरकारी भित्रिने गर्छ। तर, निषेधाज्ञा लागू भएसँगै ४ सयदेखि करिब ५ सय टन मात्रै तरकारी आउने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। साथै आगामी दिनमा निषेधाज्ञा बढ्दै गयो भने तरकारको मूल्य अझै घट्ने समितिले जनाएको छ ।

शुक्रवार तरकारीको मूल्य

निषेधाज्ञाका कारण बजारमा अधिकांश तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रवार हरियो अंगुरको मूल्य २१० रुपैयाँ, अम्बा १९५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा कायम भएको छ।

त्यसैगरी, लोकल काँक्रो प्रतिकेजी ५५ रुपैयाँ, कागती २५० रुपैयाँ, खुर्सानी सुकेको ६५ रुपैयाँ रहेको छ।

भान्सामा सबैभन्दा बढी प्रयोग हुने ठूलो गोलभेडा (भारतीय) ४५ रुपैयाँमा कायम भएको छ । गत १६ गतेसम्ममा गोलभेडाको मूल्य ५५ रुपैयाँ थियो । त्यसैगरी, ठूलो गोलभेडा (नेपाली) ४५, सानो गोलभेडा (लोकल) १७ रुपैयाँ, सानो गोलभेडा (टनेल) २२ रुपैयाँ, सानो गोलभेडा (भारतीय) १२ रुपैयाँ र सानो गोलभेडा (तराई) १७ रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ब्याजको मूल्य घटेर ३७ रुपैँयामा झरेको छ। वैशाखको शुरुमा ५० रुपैँयाको हाराहारीमा प्याजको मूल्य थियो । त्यसैगरी, भन्टा लाम्चो, घिउ सिमी (लोकल, हाइब्रिड), तितो करेला,गाँजर, बन्दा, बोडी, लौका, घिरौला, भिण्डी, मटरकोसा, परवल, लौका लगायत अधिकांश हरियो तरकारीको मूल्यमा पनि गिरावट आएको छ ।

फलफूलको मूल्यमा पनि गिरावट

निषेधाज्ञाका कारण हरियो तरकारीसँगै फलफूलको मूल्य घटेको छ। अहिले केरा ९५ रुपैयाँ दर्जनमा कारोबार भइरहेको छ । यसअघि ११५ रुपैँयामा केरा किनबेच भएको थियो । आँपको मूल्य पनि घटेर १२५ रुपैँयामा झरेको छ। यसअघि आँप १३५ रुपैँयामा किनबेच भइरहेको थियो । १४५ रुपैयाँमा रुख कटहर ४७ रुपैयाँ, अंगुर २१० रुपैयाँ र हरियो तरबुजा ३६ रुपैयाँमा कारोबार भइरहेको छ। तरकारी तथा फलफूलको चर्को मूल्य तिर्न बाध्य भएका उपभोक्ता मूल्य घटेसँगै राहत महशुस गरेका छन्।

आज कति छ फलफूल र तरकारीको मूल्य ?

मूल्यसूची हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?