को हुन् शोभाकान्त ढकाल ? जसको रिहाइको सन्दर्भमा बाझियो न्यायाधीशबीच राय

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकालको रिहाइको सन्दर्भमा न्यायाधीशहरुबीच राय बाझिएको छ ।

अभियुक्त ढकाललाई रिहाइ गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको हो।

शुक्रवार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वयको राय बाझिएको हो ।

न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए । तर, यता न्यायाधीश डा भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन नपाएको हो ।

को हुन शोभाकान्त ढकाल ?

ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन । माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए ।

पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा शेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ ।

नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो । स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँ गाउँमा घर छ ।

केही वर्षअघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?