एनएसएल : चितवनको प्लेअफ सम्भावना समाप्त

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शुक्रवार) भएको एकमात्र खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई २-१ गोलले पराजित गरेको छ।

पहिलो हाफ गोल रहित सकिएको खेलको दोस्रो हाफमा चितवनका शिशिर लेखीले ७२औं मिनेटमा चितवनलाई अग्रता दिलाए।

शिशिरले मैदानको दायाँ भागबाट उत्कृष्ट ‘लङ रेन्जर’ प्रहार गर्दा पोखराका गोलरक्षक दिप कार्की बिट हुन पुगेका थिए।

खेलको टर्निङ पोइन्ट ८५औं मिनेटमा आयो। नितिन थापाको लङ लफ्टेड पासलाई चितवनका गोलरक्षक विशाल सुनारले डि-बक्स बाहिर हातले समात्दा विशालले रातो कार्ड खान पुगे र पोखराले डि-बक्सको बाहिर फ्रिकिक पायो।

सोही फ्रिकिक पोखराका नवयुग श्रेष्ठले उत्कृष्ट रूपमा चितवनको वाललाई बिट गर्दै गोलमा परिणत गरे। भर्खरै मैदान प्रवेश गरेका चितवनका गोलरक्षक विश्वास चौधरीले कुनै मौका पाएनन्।

खेलको अन्तिम चरणमा १० खेलाडीमा सीमित भएको चितवनले इन्जुरी समयमा अर्को गोल खान पुग्यो। पोखराका राफायल रिमगागोले अतिरिक्त समयको ५औं मिनेटमा गोलगर्दै पोखराको प्लेअफ यात्रा खुला राखे।

पोखराले यस जितसँगै आफ्नो समूह चरणको सबै खेल पूरा गरेको छ। ६ खेलमा ८ अंकका साथ पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै चितवनको यस संस्करणको एनएसएल प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ। ५ खेलमा एकमा पनि जित निकाल्न नसकेको चितवनको टोली २ अंकका साथ पुछारमा रहेको छ।

खेलको ‘म्यान अफ दि म्याच’ पोखराका रविशंकर पासवान घोषित भए भने ‘इमर्जिङ प्लेयरमा’ चितवनका शिशिर लेखी चुनिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?