इंग्लिश प्रिमियर लिग : लेस्टर सिटी घरेलु मैदानमै स्तब्ध

काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राती भएको एकमात्र खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ४-२ गोलले पराजित गरेको छ।

लेस्टरको घरेलु मैदान ‘किंग पावर स्टेडियम’मा खेलिएको सो खेलमा पाहुना टोलीले ४ गोलको अग्रता लिन सफल भएको थियो। पहिलो हाफको २२औं मिनेटमा जो विलकले न्युक्यासललाई अग्रता दिलाएका थिए। त्यसपछि ३४औं मिनेटमा डिफेन्डर पल डम्मेटले न्युक्यासलको अग्रतालाई दोब्बर बनाए। डम्मेटको यो सन् २०१६ पछिको पहिलो गोल हो।

पहिलो हाफ २-० ले पाहुना टोलीको पक्षमा गयो। त्यस्तै दोस्रो हाफमा पनि यो सिलसिला कायमै रहने पुग्यो। खेलको ६४औं मिनेटमा स्ट्राइकर क्यालम विल्सनले न्युक्यासलको अग्रता तेब्बर बनाए। उनले सोलो गोल गर्दै यस सिजनमा आफ्नो व्यक्तिगत ११औं गोल गरे। विल्सनको खुशियाली ७३औं मिनेटमा दोब्बर भयो। उनले अर्को उत्कृष्ट गोल गर्दै न्युक्यासलको अग्रतालाई बढुवा दिए।

आफ्नै घरेलु मैदानमा ४ गोलले पछि परेको लेस्टरले खेलमा फर्किने सक्दो प्रयास गर्यो। खेलको ८०औं मिनेटमा मार्क अल्ब्राइटनले उत्कृष्ट गोल गरेर घरेलु टोलीलाई केही हदसम्म सान्त्वना दिए। त्यस्तै ‘इन-फर्म’ स्ट्राइकर केलेची इहेनाचोले पनि लेस्टरका लागि ८७औं मिनेटमा दोस्रो गोल थपे।

लेस्टरलाई खेलमा फर्किन कुनै समय बाँकि थिएन र जित पाहुना टोली न्युक्यासलको पोल्टामा गयो।

तेस्रो स्थानमा बलियो देखिएको लेस्टरलाई यो पराजयले ६५ खेलमा ६३ अंकमा रोकेको छ। त्यस्तै ३४ खेलमा ६१ अंकसहित चेल्सीले लेस्टरलाई पछ्याउने क्रम जारी नै छ।

त्यसरी नै यस अप्रत्याशित जितसंगै न्युक्यासल अंक तालिकाको १३औं स्थानमा उक्लिएको छ। न्युक्यासलले ३५ खेलमा ३९ अंक बटुल्दै आगामी सिजनको प्रिमियर लिग फुटबल लगभग पक्का गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?