काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) दुई खेल हुँदै छन्। विराटनगर, ललितपुर, धनगढी र बुटवलले आज आफ्ना समूह चरणका अन्तिम खेल खेल्दै छन।
दशरथ रंगशालामा खेलिने आजको पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी आमने सामने हुँदै छन्। अपरान्ह २:३० बजे शुरुहुने सो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण रहने छ। दुवै टिम एक-अर्कामाथि जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्न चाहन्छन्।
पछिल्लो खेलमा काठमाडौं विरुद्ध ५ गोल खाँदै अप्रत्याशित हार बेहोरेको विराटनगरको टोलीले आफ्नो समूह चरणको अन्तिम खेलमा जित निकाल्दै प्लेअफ यात्रा सुनिश्चित गर्न चाहन्छ। ५ खेलमा ७ अंक जोडेको विराटनगरको टोली अंक तालिकाको चौथौं स्थानमा रहेको छ।
त्यस्तै मुख्य प्रशिक्षक प्रदिप हुमागाँईलाई बर्खास्त गरेको अर्को खेलमै ललितपुरलाई आफ्नो पहिलो जित हासिल भएको थियो। राष्ट्रिय टोलीका पूर्व सदस्य राजु तामाङलाई प्रशिक्षणको जिम्मा सुम्पेको ललितपुरको टोली समूह चरणको अन्तिम खेलमा लगातार दोस्रो जित निकाल्दै प्लेअफ स्थान पक्का बनाउन चाहन्छ। आजको खेलमा ललितपुरले जित निकालेको खण्डमा ललितपुरको प्लेअफ यात्रा पक्का हुनेछ।
त्यस्तै आज हुने दोस्रो खेलमा अन्तिम ४ पुगिसकेको धनगढी एफसीलाई हराउँदै बुटवल लुम्बिनी एफसी आफ्नो प्लेअफ सम्भावना कायम राख्न चाहन्छ। ५ खेलमा ५ अंक रहेको बुटवलको टोली अहिले छैटौं स्थानमा रहेको अवस्था छ।
आजको खेलमा विराटनगर, ललितपुर र बुटवल, तीन वटै टोलीलाई जितको खाँचो छ भने धनगढी जितको सिलसिला कायम राख्दै प्लेअफ प्रवेश गर्न चाहन्छ।
प्रतियोगितामा धनगढी र काठमाडौंले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया