ला-लिगा २०२१ : बार्सिलोनाको यात्रा गर्दै एथ्लेटिको मड्रिड

काठमाडौं।  ला-लिगा २०२१ करिब करिब अन्तिम चरणमा पुगेको छ। उपाधि रेस ‘नेक-टू-नेक’ को स्थितिमा छ। यसै बिच लिगको शीर्ष स्थानमा रहेको टोली एथ्लेटिको मड्रिडले शनिवार बार्सिलोनाको यात्रा गर्दै छ।

३४ खेलमा ७६ अंकका साथ शीर्ष स्थानमा रहेको एथ्लेटिको सुरक्षित भने पक्कै छैन। एथ्लेटिकोलाई पछ्याउँदै ३४ खेलमा समान ७४ अंक सहित रियल मड्रिड र बार्सिलोना क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

बार्सिलोनाले आफ्नो घरेलु मैदानमा शनिवार एथ्लेटिको मड्रिडलाई हराएको खण्डमा उपाधि रेसले नयाँ मोड लिनेछ। तर एथ्लेटिकोले यदि बार्सिलोनालाई हराएको खण्डमा एथ्लेटिको मड्रिडको उपाधि यात्रा निकै बलियो बन्नेछ।

सन् २०१४ मा एथ्लेटिको मड्रिडले पछिल्लो पटक ला-लिगाको उपाधि चुमेको थियो। त्यस बखत पनि डिएगो सिमीओनेले बार्सिलोनाको ‘क्याम्प नौ’ मा १-१ को बराबरी खेल्दै एथ्लेटिकोलाई उपाधि दिलाएका थिए।

समयले दुवै टोलीलाई उस्तै परिस्थितिमा राखेको अवस्था छ। एथ्लेटिकोले फेरि ‘क्याम्प नौ’ मा हैकम जमाउन सक्ला त, शनिवार साँझ ८ बजेको खेलले बताउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?