काठमाडौं। नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज शनिवार खेलिएको पहिलो खेलमा ललितपुर सिटी एफसीले विराटनगर सिटी एफसीलाई ४-० गोलले पराजित गरेको छ। यस जितसँगै ललितपुरले अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।
पहिलो हाफमा कप्तान अन्जन विष्टले उत्कृष्ट गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए। अन्जनले यस प्रतियोगिताको पहिलो गोल समूह चरणको अन्तिम खेलमा गरे। जुन गोल ललितपुरका लागि सबैभन्दा महत्वपूर्ण सावित भयो।
खेलको दोस्रो हाफमा विमल लामाको गोलबाट ललितपुरले अग्रता दोब्बर बनायो। कप्तान अन्जनको पासलाई ‘ट्याप इन’ गोल गर्दै विमल लामाले ललितपुरको अग्रता दोब्बर बनाएका हुन्।
त्यसपछि केही बेर खेल रोकियो। विराटनगरका प्रशिक्षक यान लले आफ्ना खेलाडीहरुलाई मैदान बाहिर बोलाउँदा खेल रोकिएको हो। खेलमा रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै विराटनगरका प्रशिक्षक तथा टेक्निकल टीमले खेल मैदान छाड्ने निर्णय गरेका थिए। केही बेरको चर्काचर्की पछि खेल पुनः सुचारु भयो।
त्यसपछि विराटनगरका विजय धिमालले रातो कार्ड खाँदै मैदान छाडे। ललितपुरले कप्तान अन्जन विष्टमार्फत तेस्रो गोल गर्यो। नुरलान जाहिदले ललितपुरका लागि चौथो गोल गर्दै प्लेअफ यात्रा सुनिश्चित पारे।
ललितपुर ले ६ खेलमा ९ अंक जोड्दै सेमी फाइनलमा स्थान पक्का पारेको हो। त्यस्तै ललितपुर अंक तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ।
उता विराटनगर भने ६ खेलमा ७ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया