काठमाडौं। ला-लिगामा शनिवार नेपाली समय राती ८ बजे बार्सिलोना र एथ्लेटिको मड्रिड प्रतिस्पर्धा गर्दै छन्।
ला-लिगाको उपाधिका लागि आजको खेल एकदम महत्वपूर्ण रहेको छ। पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई सन् २०१४ पछिको पहिलो उपाधि जित्न बार्सिलोनाविरुद्धको जित अपरिहार्य रहेको स्थिति छ। उता एथ्लेटिको भन्दा मात्र २ अंक पछि रहेको बार्सिलोनालाई पनि आजको जितले उपाधि रेसमा ठूलो टेवा पुर्याउने छ।
यति भइसक्दा पनि आजको खेल अर्को एउटा कारणले महत्वपूर्ण छ। बार्सिलोनाको ‘क्याम्प नाउ’ मा फर्किंदै छन् लुइस स्वारेज।
गत सिजनको अन्त्यमा बार्सिलोना छाडेर एथ्लेटिको गएका स्वारेज लियोनल मेस्सीका नजिकको मित्र हुन्। यी दुईलाई बेस्ट-फ्रेन्ड भन्दा पनि गलत हुँदैन।
बार्सिलोनाको इतिहासमा तेस्रो सर्वाधिक गोलकर्ता हुन् स्वारेज। सन् २०१४ मा इंग्लिश क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले बार्सामा १३ उपाधि जिते। जसमा ४ ला-लिगा, ४ कोपा डेल रे र १ युईएफए च्याम्पियन्स लिग उपाधि सम्मिलित छन्।
स्वारेजको मेस्सीसँग गहिरो मित्रता थियो। दुवै एक अर्काका परिवारसँग निकै घुलमिल गर्थे। छुट्टीको समयमा यी दुई र यीनका परिवारसँगै घुमेको दृश्य निकै देखिन्थ्यो।
तर स्वारेज शनिवार मेस्सीको मित्र भन्दा पनि प्रतिद्वन्दी बनेर ‘क्याम्प नाउ’ आउने छन्।
सन् २०२० को सिजन अघि एथ्लेटिको मड्रिड गएका स्वारेजलाई आजको खेल अघि बार्सिलोनाको टोली तथा बोर्डले सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया