काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी चेल्सीसँग पराजित भएको छ।
युईएफए च्याम्पियन्स लिगको फाइनल अघि प्रिमियर लिगको भेटमा चेल्सीले सिटीमाथि २-१ गोलको जित निकाल्दै सिटीको उपाधि जित्ने धोकोलाई लम्ब्याएको छ।
पहिलो हाफको ४४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा सिटीले पाएको पेनाल्टीमा सर्जियो अग्वेरोले गोल गर्न चुकेपछि सिटीले अग्रता दोब्बर गर्न सकेन।
सिटीको घरेलु मैदानमा चेल्सीले उत्कृष्ट दोस्रो हाफको फुटबल प्रदर्शनी पस्कियो। खेलको ६३औं मिनेटमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए।
निर्धारित ९० मिनेट पछिको इन्जुरी समयमा चेल्सीका फूल ब्याक मार्कोस अलन्जोले गोल गर्दै चेल्सीलाई उत्कृष्ट जित दिलाएका थिए। त्यसैगरी यस जितका साथ चेल्सी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। उता म्यानचेष्टर सिटीको उपाधि यात्रा कम्तीमा अर्को खेल सम्मको लागि लम्बिएको छ।
यी दुवै टोली बिच ‘मे २९’ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदैछ।
त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि २-० को सहज जित हासिल गरेको छ।
यस पुनरागमन जितसँगै लिभरपुल अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ। लिभरपुलको ३४ खेलमा ५७ अंक रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया