कमला अर्याल /काठमाडौं –
सरकारको फितलो अनुगमनका कारण बजारमा कालोबजारी झनै बढेको छ । कोरोना महामारीको मौका छोप्दै व्यापारीहरुले कालोबजारी गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्रै देशबासीका नाममा गरेको सम्बोधनमा महामारीको मौका छोपी औषधिजन्न वस्तुमा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने बताएका थिए । तर बजारमा कालोबजारी भने रोकिएको छैन। विषेश गरी कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेका बेला बढी माग हुने सेनीराइजर, मास्क, अक्सिमिटर, थर्मोमिटर, थर्मल गन लगायतका वस्तुमा कालाबजारी हुने गरेको छ। पछिल्लो समय उद्योगदेखि खुद्रा औषघि पसलले समेत कालोबजारी गरिरहेका छन् ।
कोरोना संक्रमण भएपछि संक्रमितलाई अक्सिजनको कमी हुने भएकाले घरमै अक्सिजनको मापन गर्न अहिले अधिकांश सर्वसाधारणले घर घरमा अक्सिमिटर राख्न थालेका छन् । त्यसैले तुलनात्मक रुपमा हाल बजारमा अक्सिमिटरको माग बढी छ। त्यसको मौका छोप्दै व्यापारीहरुले बढी मूल्य लिन थालेका छन् । हालै मात्रै प्रहरीले एकजना औषधि पसलेलाई अक्सिमिटरको मूल्य बढी लिएको फेला पारेपछि पक्राउ गरेको छ। प्रहरीले पर्साको वीरगन्जका ३२ वर्षीय रामहरी तिवारीलाई नियन्त्रणमा लिएको हो। उनले आफ्नै घरमा खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैयाँसम्म लिएर बिक्री गरेका थिए । प्रहरीले तिवारीको पसलबाट १२ वटा अक्सिमिटर पनि बरामद गरेको छ।
केही समयअघि मात्रै सरकारले मास्कमा कालोबजारी गरेका केही उद्योगहरुलाई कारवाही गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती उद्योगहरुलाई कारवाही गरेको हो । यसअघि मास्कमा कालोबजारी गरेको भन्दै विभागले त्रिपुरेश्वस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई कारवाही गरेको छ । सो सप्लायर्सले प्रति पिस ४.४६ रुपैयाँ मूल्यमा खरिद गरेको सर्जिकल मास्क ८ रुपैयाँ ३८ पैसामा बिक्रि गरेको अनुगमनका क्रममा विभागले फेला पारेको थियो । विभागले यस फर्मलाई २ लाख रुपैँया जरिवाना गराइसकेको छ । त्यस्तै, विभागले भक्तपुरको ‘हिमालयन लाइफ केयर इन्डस्ट्रिज’लाई कारवाही गरेको थियो । उद्योगले मास्कको कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गरेपछि सो उद्योग कारवाहीमा परेको हो । विभागले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । विभागले यसअघि पनि विभागमा परेको उजुरीका आधारमा होलसेल व्यापार गर्ने पाँचवटा फर्मलाई १०/१० हजार रुपैँयाका दरले जरिवाना गरेको थियो । त्यस्तै, विभागले बढी मूल्य लिएर फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ५ हजार रुपैयाँ जरिवाना गरेको थियो।
चिनीको मूल्य बढ्यो, खाने तेलको मूल्य घटेन
निषेधाज्ञाको मौका छोपेर नेपालका उद्योगले चिनीको मूल्य बढाएका छन् । निषेधाज्ञा भएसँगै चिनी उद्योगहरुले चिनीको मूल्य बढाएका हुन् । अहिले चिनीको मूल्य प्रतिकेजी ८ रुपैँया बढेको छ। निषेधाज्ञाका कारण भारतसँग खुल्ला सीमानाबाट अनधिकृत रुपमा नेपाल भित्रिने चिनीको आयात अहिले बन्द भएको छ। यसले स्वदेशी उत्पादनले बजार पाउने भएपछि त्यसैको मौका छोपी उद्योगीहरुले चिनीको मूल्य बढाएका हुन् ।
त्यस्तै,गएको तिहारपछि पटक पटक बढेको खाने तेलको मूल्य अझै घटेको छैन । तेल उद्योगीहरुले कच्चा पदार्थको मूल्य बढेको भन्दै पटक पटक तेलको मूल्य बढाएका छन् । तर सरकार भने रमिते बनेको छ।
कोरोना संक्रमणका कारण गत वर्षदेखि नै कयौँ उद्योग व्यवसाय बन्द भएका छन् । यस्तो अवस्थामा हजारौँ श्रमिकले रोजगारी गुमाए भने कयौँको तलब सुविधामा कटौती भयो। जसले गर्दा सर्वसाधारणको आम्दानीमा ठूलो ह्रास आयो । तर बजारमा दैनिक उपभोग्य देखि महामारीका बेला औषधिजन्य वस्तुमा मूल्य वृद्धि तथा कालोबजारीका कारण उपभोक्ता मारमा परेका छन् । कालोबजारीका कारण उपभोक्ताको ढाड उठ्नै नसक्ने गरी थिचिए पनि सरकारले भने कडा कदम उठाउन सकेको छैन ।
सरकारको सधैँ तयारी जवाफ
सरकारको प्रभावकारी अनुगमन नभएका कारण बजारमा कालोबजारी मौलाउँदो छ। अहिले मुलुकका ६० जिल्लाको हाराहारीमा निषेधाज्ञा भएको छ । निषेधाज्ञाका कारण आम मानिस घरमा बस्न बाध्य छन्। कोरोनाको दोस्रो लहरको भाइरस अत्यन्तै शक्तिशाली भएकाले छिटो सर्ने र संक्रमितको मृत्यु पनि बढी मात्रामा भइरहेको छ । जसका कारण आम मानिसमा पहिलेको तुलनामा बढी त्रास फैलिएको छ । त्यसैले यस्तो बेलामा अनुगनमा जाँदा आफूलाई पनि संक्रमण सर्ने डरले पनि सरकारले अनुगमन प्रभावकारी बनाउन सकेको छैन। अहिले कर्मचारीहरु संक्रमण सर्छ भन्दै डरारहेको विभाग स्रोतले बतायो।
तर सरकार भने बजार नियमित रुपमा अनुगमन गरिरहेको बताउँदै आएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले कोरोना संक्रमण बढेसँगै बजारमा कृत्रिम अभाव गर्ने र बढी मूल्य लिनेलाई कारवाही गरिरहेको बताए । संक्रमणको मौका छोपी बजार असन्तुलन गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने प्रवक्ता सेँढाईको भनाई छ । त्यसका साथै निषेधाज्ञाको मौका छोपी मास्क, सेनीटाइजर, अक्सिमिटर, थर्मलगन लगायत औषधिजन्य वस्तु तथा दैनिक उपभोग्य वस्तु दाल, चामल, खाने तेल, गेडागुडी लगायतमा पनि कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्नेलाई सरकारले निगरानी गरिरहेको प्रवक्ता सेडाईको भनाई छ।
विभागले विभिन्न ६ वटा अनुगमन टोली बनाई दैनिक बजार अनुगमन गरिरहेको सेँढाइले बताए । साथै विभागले औषधीजन्य वस्तु तथा अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सृजना गरेको तथा बढी मूल्य लिएको पाइएमा विभागको हटलाईन ११३७ (पैसा नलाग्ने )नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया