काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तरगत आइतवार साँझ भएको खेलमा म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको छ।
भिल्लाको घरेलु मैदान ‘भिल्ला पार्क’मा भएको सो खेलको २४औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। भिल्लाका लागि वर्ट्राण्ड ट्राओरेले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए।
पहिलो हाफ घरेलु टोलीको पक्षमा गए पनि दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट फुटबलको प्रदर्शनी देखायो। ५२औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत पाहुना टोलीलाई बराबरीमा लगे। त्यसपछि ५६औं मिनेटमा युनाइटेडले खेलमा अग्रता लियो। मेसन गृनवुडले शानदार गोल गर्दा युनाइटेडले भिल्ला पार्कमा अग्रता लियो।
त्यसपछि युनाइटेडका लागि तेस्रो गोल एडिन्सन काभानीले गरे। उनले खेलको ८७औं मिनेटमा हेडर गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।
यसका साथै युनाइटेड ३४ खेलमा ७० अंकका साथ दोस्रो स्थानमा बलियो देखिन्छ। भिल्ला भने ३४ खेलमा ४८ अंक सहित ११औं स्थानमा रहेको छ।
म्यानचेस्टर युनाइटेडको यो जितसँगै म्यानचेष्टर सिटीको उपाधि पर्खाई अझै लम्बिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया