काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा आर्सनलले वेस्ट ब्रमलाई ३-१ गोलले पराजित गरेको छ। यो नतिजासँगै वेस्ट ब्रम प्रिमियर लिगबाट रेलिगेट भएको छ।
आर्सनलको घरेलु मैदान एमिरेट्स’मा भएको खेलमा घरेलु टोलीले अग्रता लिएको थियो। २९औं मिनेटमा एमिल स्मिथको गोलबाट आर्सनलले खाता खोलेको थियो। त्यस्तै खेलको ३५औं मिनेटमा निकोलस पेपेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर गरे।
दोस्रो हाफको ६७ औं मिनेटमा परेराको गोलबाट पाहुना टोली खेलमा फर्किन खोजे पनि ९०औं मिनेटमा विलियनको गोल मार्फत आर्सनलले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो।
यस हारसँगै ३५ खेलमा मात्र २६ अंक जोडेको वेस्ट ब्रमको टोली इंग्लिश प्रिमियर लिगबाट रेलिगेट भएको छ। वेस्ट ब्रम यसै सिजन मात्र इङ्ल्यान्डको माथिल्लो तहको लिगमा बढुवा भएर आएको थियो।
आर्सनल भने ३५ खेलमा ५२ अंक सहित ९औं स्थानमा रहेको छ।
त्यस्तै गए राति भएको अर्को खेलमा एभर्टनले वेस्ट ह्यामलाई १-० गोल अन्तरले पराजित गरेको छ।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले पहिलो हाफमा नै अग्रता लिएको थियो। २४औं मिनेटमा स्ट्राइकर डोमिनिक कालभर्ट लेविनको गोलमार्फत एभर्टनले खेलमा अग्रता लिएको थियो।
खेलमा अरु कुनै गोल हुन नसक्दा वेस्ट ह्यामले पराजय भोगेको हो। ‘टप फोर’को रेसमा रहेको वेस्ट ह्यामलाई यो हारले ठूलो धक्का लागेको छ। ३५ खेलमा ५८ अंक सहित वेस्ट ह्याम ५औं स्थानमा छ भने ३४ खेलमा ५७ अंक सहित लिभरपुल ६औं स्थानमा छ। एभर्टन भने ३४ खेलमा ५५ अंकसहित आठौं स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया