धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म २०८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो वैशाख महिनामा मात्रै एक सय ५० जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा वैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो ।
आईतबार साँझ जारी तथ्यांकमा १८ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । शनिबार साँझको तथ्यांकमा अहिलेसम्म १९० जनाको मृत्यु भएको विवरण राखिएको थियो ।
पछिल्लो दिनमा कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने रहेका छन् । पछिल्लो ९ दिनमा कोरोनाबाट ११८ जनाले ज्यान गुमाएका छन् । १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना र ६ गते १८ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसभन्दा अघि वैशाख महिनामा ३३ जनाको मृत्यु भएको थियो । बैशाख अघिका ३ महिना यता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको थियो ।
जुन क्रम अहिले अकल्पनीय रुपमा बढेको छ । वैशाख यता मात्रै एक सय ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या समावेश गरिएको छैन ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया