काठमाडौं । फ्रेनचाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफ खेल आज (मंगलवार) हुँदैछ। सिंगल राउण्ड रबिनका शीर्ष दुई टोली काठमाडौं रेजर्स एफसी र धनगढी फुटबल क्लब पहिलो प्लेअफमा प्रतिस्पर्धा गर्दै छन्।
दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुने खेलको विजेताले सोझै फाइनलमा स्थान बनाउने छ। आजको खेलमा पराजित हुने टोलीले दोस्रो प्लेअफको विजेतासँग ‘इलिमिनेटर’मा प्रतिस्पर्धा गर्नेछ।
धनगढी र काठमाडौं दुवै टोली, समूह चरणका खेलहरुमा बलियो देखिएका छन्।
काठमाडौंले आफ्नो ६ खेलमा ४ जित निकाल्दै १३ अंक बटुलेको थियो। काठमाडौंले पहिलो खेलमा नै ललितपुर विरुद्ध १-० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो। त्यस्तै काठमाडौंले बुटवल लुम्बिनी, विराटनगर र चितवनलाई पनि पराजित गरेको थियो। पोखरासँग बराबरीको खेल खेलेको काठमाडौंले समूह चरणमा मात्र १ हार बेहोरेको थियो, धनगढीसँग।
उता धनगढीले भने आफ्नो ६ खेलमा ३ जित निकालेको थियो। प्रतियोगिताको सुरुवात विराटनगरसँग ३-० को हारबाट शुरू गरेको धनगढीले त्यसपछि समूह चरणमा काठमाडौं, चितवन र पोखरालाई पराजित गरेको थियो।
धनगढी र काठमाडौंलाई क्रमशः नेपाल राष्ट्रिय टोलीका गोलरक्षकद्वय किरण चेम्जोङ र विकेश कुथुले कप्तानी गरिरहेका छन्।
काठमाडौंमा कुथुसँगै तेज तामाङ, सँजोक राई, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, मेसुके ओलोमोउ जस्ता नाम सम्मिलित छन् भने प्रशिक्षणको जिम्मा नेपाल राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बाल गोपाल महर्जनले लिएका छन्।
उता धनगढीमा किरणसँगै विशाल राई, दर्शन गुरुङ, निशान खड्का, दिनेश राजवंशी, ओलावाले अफीज जस्ता नाम सम्मिलित छन्। धनगढीका मुख्य प्रशिक्षकमा नाइजेरियाका फुजा तोपे रहेका छन्।
काठमाडौंका मेसुके ओलोमोउ र धनगढीका ओलावाले अफीजले यस संस्करणको एनएसएलमा उत्कृष्ट प्रदर्शन देखाएका छन्।
प्लेअफको यात्रा सम्म
काठमाडौं रेजर्स
जित ४, हार १, ड्र १
गोल फर: ९
गोल अगेन्स्ट: ८
गोल डिफरेन्स: १
अंक: १३
धनगढी एफसी
जित ३, हार २, ड्र १
गोल फर: ८
गोल अगेन्स्ट: ५
गोल डिफरेन्स: ३
अंक: १०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया