ला-लिगा २०२१ : लेभान्टेसँग बार्सिलोनाको बराबरी, उपाधि रेसमा ठूलो धक्का

काठमाडौं ।  स्पेनिश ला-लिगामा गए राती भएको खेलमा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको छ। लेभान्टेको घरेलु मैदानमा बार्साले आफ्नो अग्रता जोगाउन नसक्दा खेल ३-३ को बराबरीमा सकिएको थियो।

खेलको २५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो। त्यसपछि ३४ औं मिनेटमा पेड्रीले गोल गर्दा पाहुना टोलीको अग्रता दोब्बर भयो।

पहिलो हाफको खेल बार्साको पक्षमा जाँदा दोस्रो हाफको खेलले अर्कै मोड लियो। लेभान्टेले २ मिनेटको अन्तरालमा २ गोल गर्दा घरेलु टोली खेलमा फर्कियो। ५७ औं मिनेटमा मिडफिल्डर गोन्जालो मेलेरो र ५९औं मिनेटमा स्ट्राइकर जोसे मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए।

खेलको ६४ औं मिनेटमा बार्सिलोनाले पुनः अग्रता लियो। फरवार्ड ओसमाने डेम्बेलेले गोल गर्दा बार्साको अग्रता फेरि कायम गरे। तर बार्साले आफ्नो पहिलो गल्ति एकपटक फेरि दोहोर्यायो।

खेलको ८३ औं मिनेटमा फरवार्ड सर्जियो लियोनले घरेलु टोलीको हार टारे। खेलमा त्यसपछि कुनै गोल हुन सकेन र बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने सुवर्ण अवसर खेर फाल्यो।

अहिले बार्सा ३६ खेलमा ७६ अंकसहित दोस्रो स्थानमा छ। पहिलो स्थानको एथ्लेटिको मड्रिडको ३५ खेलमा ७७ अंक छ भने तेस्रो स्थानको रियलको ३५ खेलमा ७५ अंक रहेको छ। लिग लगभग अन्तिम चरणमा पुगेको अवस्थामा उपाधि होड दिनहुँ निकै रोमाञ्चक भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?