एनएसएल एलिमिनेटर : बुटवल लुम्बिनीलाई ललितपुरका लाखेको चुनौती

काठमाडौं ।  खुकुरी नेपाल सुपर लिग (एनएसएल) को ‘प्लेअफ’ अन्तर्गत आज (बुधवार) एलिमिनेटरको खेल हुँदैछ। सिंगल राउण्ड रबिन समूहमा क्रमशः तेस्रो र चौथौ स्थानमा रहेका ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी आजको खेलमा प्रतिस्पर्धा गर्दै छन्।

दशरथ रंगशालामा साँझ ५:३० बजे खेलिने सो खेलमा जित निकाल्ने टोलीले बिहीवार क्वालिफायर २ खेल्ने छ। क्वालिफायर २ को लागि काठमाडौं रेजर्स एफसीले आजको विजेतालाई पर्खिरहेको छ।

मंगलवार खेलिएको पहिलो क्वालिफायरमा काठमाडौंलाई हराउँदै धनगढी एफसीले फाइनलमा स्थान बनाइसकेको छ।

मुख्य प्रशिक्षक प्रदिप हुमागाँईलाई ४ खेलपछि बर्खास्त गरेको ललितपुरले अन्तिम २ खेलमा जित निकालेको थियो। ४ खेलमा जित प्राप्त गर्न नसकेको ललितपुरले प्रशिक्षणको जिम्मा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी राजु तामाङलाई दिएको थियो।

अन्तिम दुई खेलमा जित निकाल्ने क्रममा ललितपुरको एक जित बुटवल लुम्बिनी विरुद्ध नै आएको हो। ललितपुरले बुटवललाई १-० गोलले पराजित गरेको थियो।

उता समूह चरणको अन्तिम खेलमा धनगढीलाई पराजित गरेर प्लेअफको यात्रा सुनिश्चित गरेको बुटवल लुम्बिनीले समूह चरणमा २ जित निकालेको थियो। आफ्नो पहिलो खेलमा पोखरा र अन्तिम खेलमा धनगढीविरुद्ध जित हासिल गरेको बुटवलले अरु ४ खेलमध्ये २ मा बराबरी र २ मा हार बेहोरेको थियो।

अन्तिम दुई खेलमा शानदार जितहरु निकालेको ललितपुरको टोलीको आत्मविश्वास र मनोबल निकै बलियो रहनेछ। कप्तान तथा मार्की प्लेयर अन्जन विष्टसहित ललितपुरको टोलीमा एरिक विष्ट, रंजन विष्ट, विमल राना, मिक्छेन तामाङ, निरज बस्नेत र नुर्लान जाहिद जस्ता खेलाडी छन्।

उता पछिल्लो खेलमा विराज महर्जनलाई कप्तानीको जिम्मा दिएका मार्की प्लेयर विशाल श्रेष्ठसहित बुटवल मैदानमा अभिषेक रिजाल, सुमन लामा, लक्ष्मण रूचाल, रबिन श्रेष्ठ जस्ता खेलाडीलाई लिएर उत्रने छ।

प्लेअफको यात्रासम्म

ललितपुर सिटी एफसी

जित २, हार १, ड्र ३
गोल फर : ७
गोल अगेन्स्ट : ३
गोल डिफरेन्स : ४
अंक : ९

बुटवल लुम्बिनी एफसी

जित २, हार २, ड्र २
गोल फर : ७
गोल अगेन्स्ट : ६
गोल डिफरेन्स : १
अंक : ८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?