काठमाडौं । सिरी-ए अन्तर्गत गए राति खेलिएका खेलहरुमा युभेन्टस र एसी मिलान विजयी भएका छन्। युभेन्टसले सासुओलोलाई ३-१ गोलले पराजित गरेको छ भने अर्को खेलमा एसी मिलानले टोरिनोमाथि ७-० गोलको शानदार जित दर्ता गरेको छ।
सासुओलोको घरेलु मैदानमा खेलिएको खेलमा घरेलु टोलीले १६ औं मिनेटमा अग्रता लिने मौका गुमाएको थियो। बेरार्डीले प्रहार गरेको पेनाल्टीले गोलको दिशा लिन नसक्दा सासुओलोले अग्रता लिने मौका खेर फाल्यो।
त्यसपछि खेलको २९ औं मिनेटमा युभेन्टसले अग्रता लियो। राबियोटले पहिलो गोल गर्दै पाहुना टोलीलाई बलियो स्थानमा पुर्याए। पहिलो हाफको ४५ औं मिनेटमा राबियोटले दोस्रो गोलको लागि रोनाल्डोलाई असिस्ट गरे। पहिलो हाफको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टसले अग्रता दोब्बर गरेको थियो।
दोस्रो हाफको ५९औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो। रास्पाडोरीको गोलमा सासुओलोले एक गोल फर्कायो। तर ६६औं मिनेटमा युभेन्टसले पुनः १ गोल थप्यो। स्ट्राइकर पाउलो डिबालाले गोल गर्दै युभेन्टसको अग्रतालाई फेरि दोब्बर बनाए। यसै बिच खेलमा समान ११ गोल गरेका रोनाल्डो र डिबालाले युभेन्टसको लागि १०० गोलको कीर्तिमान प्राप्त गरेका छन्।
खेलमा अरु कुनै गोल हुन नसक्दा युभेन्टसले ३-१ को सहज जित आफ्नो पक्षमा पार्यो।
त्यस्तै अर्को खेलमा एसी मिलानले टोरिनोमाथि ७-० को अप्रत्याशित जित हासिल गरेको छ। टोरिनोको घरेलु मैदानमा भएको सो खेलमा मिलान आफ्नो स्टार खेलाडी जलाटान इब्राहिमोविच बिना नै मैदानमा उत्रेको थियो।
जलाटानको स्थानमा खेलेका आन्ते रेबीचले ह्याट्रिक प्रहार गरे। उनले दोस्रो हाफमा १२ मिनेटको अन्तरालमा आफ्नो ह्याट्रिक पूरा गरेका हुन्। रेबीचले खेलको ६७, ७२ र ७९औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै फुलब्याक थियो हरनान्डेजले मिलानको लागि दुई गोल गरे। फ्रान्क केसी र ब्रहिम डियाजको नाममा समान १-१ गोल गयो।
गए रातिको खेलसँगै एसी मिलान ३६ खेलमा ७५ अंक बोकेर तेस्रो स्थानमा सुरक्षित देखिन्छ। उता युभेन्टसको ‘टप ४’ यात्रा अझै सहज देखिएको छैन। ३६ खेलमा ७२ अंकका साथ युभे अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया