काठमाडौं । ‘कुप डे फ्रान्स’ उर्फ फ्रेंच कप २०२१ को पहिलो फाइनलिस्ट टोली पीएसजी बनेको छ। गए राति सम्पन्न खेलमा मोन्टपिलियरलाई ‘टाईब्रेकर’मा पराजित गर्दै पीएसजीले फाइनलमा स्थान पक्का गरेको हो।
मोन्टपिलियरको घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले अग्रता लिएको थियो। १०औं मिनेटमा कीलियन एमबाप्पेले गोल गर्दा खेलमा पाहुना टोलीले अग्रता लिएको थियो।
तर ४५औं मिनेटमा गाइतान लाबोर्टेले घरेलु टोलीलाई खेलमा फर्काए। त्यसको ५ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता कायम गरे।
खेलको ८३ औं मिनेटमा मोन्टपिलियर फेरि खेलमा फर्कियो। एन्डी डेलोर्टले गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल ‘टाईब्रेकर’ तर्फ गयो। मोन्टपिलियरका खेलाडी जूनियर साम्बोवाले आफ्नो टोलीको पाँचौं तथा अन्तिम पेनाल्टी मिस गर्दा पीएसजीले खेल जितेको हो। पीएसजीका लागि डि मारिया, ड्राक्सलर, पारेदेस, मारक्वीनोस, नेयमार र मोइस किन सबैले आ-आफ्नो पेनाल्टी गोलमा परिणत गरेका थिए।
दोस्रो सेमीफाइनलमा आज राति मोनाको र रुमिली भल्लेरेस प्रतिस्पर्धा गर्दै छन्। आजको सेमीफाइनलमा जित निकाल्ने टोलीले ‘मे २०’ तारीखमा पीएसजीसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया