एनएसएल क्वालिफायर दुई : काठमाडौं र ललितपुरबीच ‘भ्याली डर्बी’, फाइनलको लक्ष्य

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करण अन्तर्गतको खेलमा आज (बिहीवार) काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्दै छन् ।

दशरथ रंगशालामा हुने दुई टोलीबीचको ‘भ्याली डर्बी’को खेल साँझ ५:३० बजे शुरु हुनेछ ।

पछिल्लो ३ खेलमा लगातार जित निकालेको ललितपुरको टोलीले काठमाडौंविरुद्ध सोही नतिजा निकाल्न चाहन्छ। तर बुटवल लुम्बिनीसँगको खेल पछि ललितपुरलाई २४ घण्टाको पनि आराम प्राप्त भएको छैन।

उता धनगढी एफसीसँग पहिलो क्वालिफायरमा हार बेहोरेको काठमाडौंको टोली ललितपुरविरुद्ध जित निकाल्दै फाइनल यात्रा सुनिश्चित गर्न चाहन्छ।

एनएसएल इतिहासको पहिलो खेलमा नै यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। उक्त ‘भ्याली डर्बी’मा काठमाडौंले १-० गोल अन्तरले जित हासिल गरेको थियो।

तर ‘प्लेअफ’सम्म आइपुग्दा ललितपुरको लाखे जागेको अवस्था छ। ललितपुरका कप्तान अन्जन विष्ट आफ्नो उत्कृष्ट फर्ममा फर्किएका छन्। उनले पछिल्ला दुई खेलमा ३ गोल गरेका छन्। त्यस्तै ललितपुरका गोलरक्षक अर्पण कार्कीको प्रदर्शन पनि प्रशंसनीय छ। उनले पछिल्ला ४ खेलमा आफ्नो पोस्टमा गोल हुन दिएका छैनन्।

पहिलो क्वालिफायर हारेको काठमाडौंलाई फाइनल पुग्ने यो सुनौलो मौका रहेको छ। धनगढी विरुद्ध गरेका गल्ती सुधार्दै उत्कृष्ट फुटबल खेल्ने कुरामा काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जन विश्वसनीय छन्।

उता ललितपुरका मुख्य प्रशिक्षक राजु तामाङ पनि ललितपुरको लाखे उपाधि जितेर मात्रै शान्त हुने कुरा बताउँछन्।

ललितपुर र काठमाडौं बिचको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा सबै नेपाली फुटबल प्रेमीले गरेका छन्। आजको खेलको विजयी टोलीले ज्येष्ठ १ गते धनगढी एफसीसँग एनएसएलको फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?