काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत गए राति भएको खेलमा साविक विजेता रियल मड्रिडले ग्रानाडालाई ४-१ गोलले पराजित गरेको छ।
ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड शुरुवाती समयदेखि नै निकै आक्रामक र बलियो देखिएको थियो।
पहिलो हाफको १७औं मिनेटमा रियलले खेलमा अग्रता लियो। भेट्रान मिडफिल्डर लुका मोड्रीचले सुन्दर गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। पहिलो हाफको ‘इन्जुरी’ समयमा रियलले अग्रता दोब्बर बनायो। ब्राजिलियन युवा खेलाडी रोड्रिगोले मार्विनको पासमा गोल गर्दा पहिलो हाफको अन्त्य सम्ममा रियलले खेलमा २-० को पकड जमायो।
दोस्रो हाफको खेल अझै रोमाञ्चक रह्यो। ग्रानाडाका स्ट्राइकर जोर्ज मोलिनाले ‘रीबाउन्ड’मा गोल गर्दा घरेलु टोलीले खेलमा फर्किने संकेत दियो।
तर रियलले त्यसो हुन दिएन। अझै दुई मिनेटको अन्तरालमा रियलले अर्को दुई गोल थप्यो। खेलको ७५ औं मिनेटमा फुलव्याक ओड्रियोजोलाले खेलमा रियलको लागि तेस्रो गोल गरे। त्यस लगत्तै स्ट्राइकर करिम बेन्जिमाले रियलको अग्रता तेब्बर बनाए। उनले खेलको ७६औं मिनेटमा उत्कृष्ट ‘चिप’ गोल गर्दा रियल मड्रिडले ग्रानाडाविरुद्ध ४-१ को सहज जित निकाल्यो।
यस जितसँगै ला-लिगाको उपाधि रेस निकै रोमाञ्चक मोडमा पुगेको छ। ७६ खेल खेल्दा ७८ अंक बटुलेको रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै समान खेल खेलेको एथ्लेटिको मड्रिड ८० अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया