इंग्लिश प्रिमियर लिग : ओल्ड ट्राफोर्डमा फर्फरायो लिभरपुलको ‘रातो’ झण्डा

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई ४-२ गोलले पराजित गरेको छ।

प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ‘ओल्ड ट्राफोर्ड’मा ७ वर्षपछि जित निकालेको हो।

खेलको पहिलो २० मिनेट घरेलु टोलीले लिभरपुललाई निकै दवावमा राख्न सफल भएको थियो। युनाइटेडका प्रशिक्षक ओले गन सोल्साईले लेस्टरसगंको पछिल्लो खेल र यस खेलको ‘शुरुवाती ११’ मा १० खेलाडी परिवर्तन गरेका थिए।

शुरुवाती समयमा निकै ‘हाई प्रेसिङ’ खेल खेलेको युनाइटेडले खेलको १०औं मिनेटमा नै अग्रता लिएको थियो। कप्तान ब्रुनो फर्नान्डेजको प्रहार लिभरपुलका डिफेन्डर न्याट फिलिप्सलाई लागेर गोल हुन पुग्दा युनाइटेडले खेलमा अग्रता लिएको थियो।

पहिलो हाफको लगभग आधा घण्टा बितेपछि लिभरपुलले खेलमा आफ्नो सन्तुलन भेट्टायो। लगत्तै ३४औं मिनेटमा लिभरपुलका लागि डिएगो जोटाले गोल फर्काए। जोटाले शानदार ‘ब्याक हिल’ गोल गर्दा पाहुना टोली खेलमा फर्किएको थियो।

पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले खेलमा अग्रता लियो। ट्रेन्ट आर्नोल्डको उत्कृष्ट ‘फ्रिकिक’मा रोबर्टो फर्मिनोले हेडर गोल गर्दा पहिलो हाफ लिभरपुलको पक्षमा गयो।

दोस्रो हाफको शुरुवाती मिनेटमै फर्मिनोले व्यक्तिगत दोस्रो गोल गरे। म्यानचेस्टर युनाइटेडको लगातार गल्तीको फाइदा उठाउँदै फर्मिनोले आफ्नो दोस्रो तथा लिभरपुलको तेस्रो गोल गर्न सफल भए।

खेलमा लिभरपुलले दबदबा बनाइरहेको बेला म्यानचेष्टर युनाइटेड खेलमा फर्कियो। युनाइटेडका लागि मार्कस रासफोर्डले गोल गरे। ६८औं मिनेटमा रासफोर्डले गरेको गोलले युनाइटेडलाई खेलमा फर्किने ठूलो आशा दिलायो।

तर खेलको ९०औं मिनेटमा लिभरपुलका ‘स्टार’ खेलाडी मोहम्मद सालाहले उत्कृष्ट ‘सोलो’ गोल गरे। उनले मैदानको मध्य भागबाट बनाएको रनलाई सुन्दर तरिकाले ‘फिनिश’ गर्दा लिभरपुलले खेलमा ४-२ को जित दर्ता गर्यो।

युनाइटेडको घरेलु मैदानमा लिभरपुलको यो जित, ७ वर्ष पछिको लिग जित हो। यस अघि लिभरपुलले सन् २०१३/१४ को सिजनमा ‘ओल्ड ट्राफोर्ड’मा जित हासिल गरेको थियो। त्यसैगरी लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपको लागि युनाइटेडको मैदानमा यो पहिलो लिग जित हो।

यस जितसँगै लिभरपुलको ‘टप ४’ संभावना बलियो देखिएको छ। ३५ खेलमा ६० अंकसहित लिभरपुल पाँचौं स्थानमा उक्लिएको छ। उता पछिल्ला २ खेलमा हार बेहोरेको म्यानचेष्टर युनाइटेड भने ७० अंकका साथ दोस्रो स्थानमा बलियो देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?