बोरुसीया डर्टमन्डलाई जर्मन कपको उपाधि

काठमाडौं।  ‘डिएफबी पोकाल’ नामले परिचित जर्मन कपको फाइनल खेलमा बोरुसिया डर्टमन्डले आर.बी. लाइपजिगलाई ४-१ गोलले पराजित गरेको छ।

जर्मनीको राजधानी बर्लिनमा गए राति भएको खेलमा डर्टमन्डले शुरू देखि नै खेलमा हैकम जमाएको थियो।

पहिलो हाफको ५औं मिनेटमा नै जेडन सान्चोले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए। खेलको २८औं मिनेटमा अर्लिङ हाल्याण्डले डर्टमन्डको अग्रता दोब्बर बनाए। कप्तान मार्को रुइसको पासमा हाल्याण्डले गोल गर्दा डर्टमन्डले खेलमा बलियो पकड बनायो।

पहिलो हाफको अन्तिम समयमा डर्टमन्डले फेरि गोल गर्यो। कप्तान मार्को रुइसकै पासमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफको खेल ३-० ले डर्टमन्डको पक्षमा गयो।

दोस्रो हाफमा लाइपजिगले १ गोल फर्कायो। स्पेनिश फरवार्ड ड्यानी ओलमोले ७१ औं मिनेटमा गोल गर्दा लाइपजिगको खेलमा फर्किने सम्भावना बन्यो तर खेलको ८७औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमन्डलाई ४-१ को जित दिलाउन सफल भए।

डर्टमन्डको यो ४ वर्षमा पहिलो उपाधि हो। सन् २०१७ मा डर्टमन्डले अन्तिम पटक जर्मन कपको उपाधि जितेको थियो। त्यस्तै सन् २०१९ मा जर्मन कपको उप विजेता लाइपजिगले पुनः उप विजेतामै चित्त बुझाउनु परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?