कोभिडले आक्रान्त सुदूरपश्चिम : १६ दिनमै मृत्युदर साढे तीन गुणाले वृद्धि

टेकसिँह धामी / धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । संक्रमित थपिंदै गएको सुदूरपश्चिममा १६ दिनमै मृत्युदर साढे तीन गुणाले बढेको हो । हाल सुदूरपश्चिममा औसतमा दैनिक १५ जनाले ज्यान गुमाउँने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।

गत वर्षको चैत १४ देखि वैशाख १५ गतेसम्म कोरोना भाइरसको संक्रमणबाट ७२ जनाको मृत्यु भएकोमा बितेको १६ दिनमै मृत्युदर त्यसको साढे ३ गुणाले वृद्धि भएको छ । शुक्रबारसम्म प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो १६ दिनमा मात्र २४५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा धेरै गत वैशाख २८ गते ३१ जना संक्रमितको मृत्यु भएको थियो । यो तथ्यांकलाई हेर्दा सुदूरपश्चिममा दैनिक औसतमा कम्तीमा पनि १५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइरहेका छन् ।

वैशाख १६ गते १२ जना, वैशाख १७ गते ४ जना, वैशाख १८ गते १० जना, वैशाख १९ गते १२ जना, वैशाख २० गते १४ जना, वैशाख २१ गते ८ जना, वैशाख २२ गते ११ जना, वैशाख २३ गते १७ जना, वैशाख २४ गते १३ जना, वैशाख २५ गते १५ जना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालयको रहेको छ । यस्तै वैशाख २६ गते १८ जना, वैशाख २७ गते १७ जना, वैशाख २९ गते १४ जना, वैशाख ३० गते १७ जना र वैशाख ३१ गते ३० जनाको मृत्यु भएको छ ।

अक्सिजन अभाव र अन्तिम अवस्थामा अस्पताल ल्याउँदा मृत्युदर बढ्यो

कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउनेको संख्यामा बृद्धि हुनुमा मुख्य दुईवटा समस्या रहेको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख समेत रहेका फ्याम्ली फिजिसियन डा. जगदीश जोशी बताउँछन् । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड इन्चार्ज समेत रहेका जोशीले कोरोनाले सबैभन्दा धेरै फोक्सोमा आक्रमण गर्ने गरेको भन्दै अहिले मानिस अन्तिम अवस्थामा मात्र अस्पताल आउँदा मृत्युदर ह्वात्तै बढेको बताए ।

‘संक्रमण पत्ता लागेपछि सुरुको अवस्थामा संक्रमित चिकित्सकको निगरानीमा भए जटिल अवस्था आउँदैन,’ डा. जोशीले भने, ‘तर अहिले मानिस निमोनियाले अवस्था जटिल भइसकेपछि मात्र अस्पताल आउने क्रम बढेको छ । यस्तो बेला अक्सिजनको समेत अभाव छ । त्यसैले मृत्युदर बढ्दै गएको छ ।’ उनले होम आइसोलेसनमा बसेका संक्रमितहरुका बारेमा कुनै पनि निकायले चासो नराख्दा समस्या झनै बढेको बताए । अहिलेको अवस्थामा स्वास्थ्य संकटकाल घोषणा गरेर संक्रमितको उपचार गर्नुको विकल्प नभएको समेत उनको भनाइ छ ।

३० लाख जनसंख्याका लागि २० भेन्टिलेटर र ५६ आइसीयू

झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा कोभिड–१९ संक्रमण र मृत्यु दर बढ्दै गएको छ । हाल प्रदेशमा सात हजार ८ सय बढी संक्रिय संक्रमित स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालहरुमा उपचार भइरहेको छ।
सुदूरपश्चिम प्रदेशमा कोभिडका गम्भीर बिरामी बढ्दै गए पनि उपचारका लागि पूर्वाधार र उपकरणको चरम अभाव भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या कम भएको हो । सुदूरपश्चिम प्रदेशमा २० भेन्टिलेटर र ५३ आइसीयू शय्यामात्रै रहेको निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसीयू बेड मात्रै उपलब्ध रहेको देखाउँछ ।

डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आईसीयू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६/६ र सेती प्रादेशिक अस्पतालमा ५ भेन्टिलेटर छन् । कोभिड महामारी बढ्दै गए पनि पूर्वाधार र उपकरण थप्न प्रदेश सरकारको ध्यान जान सकेको छैन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो दुई महिनामा प्रदेशभर आइसीयू बेड दोब्बरले बढाइएको छ भने भएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएका छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकोले आइसीयू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसीयू र भेन्टिलेटर चल्दैन्,’ उनले भने, ‘त्यसैले अहिले आइसीयू र भेन्टिलेटर थप्नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ ।’
उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशभरी दैनिक झण्डै एक हजार सिलिण्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ती गर्न सकेका छैनौ । तीन सयदेखि चार सय सिलिण्डर मात्रै व्यवस्थापन गर्न सकेका छौ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?