सिरी-ए : निकै नै रोमाञ्चक खेलमा युभेन्टसद्वारा इन्टर पराजित

काठमाडौं।  इटालियन सिरी-ए अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई ३-२ गोलले पराजित गरेको छ।

युभेन्टसको घरेलु मैदान ‘एलियान्ज एरिना’मा भएको खेल निकै नै रोमाञ्चक रहेको थियो। खेलमा ३ पेनाल्टी प्रदान गरिएको थियो। त्यस्तै खेलमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए। अझै खेलमा १ आत्मघाती गोल पनि भएको थियो।

पहिलो हाफको २४औं मिनेटमा युभेन्टसलाई पेनाल्टी प्रदान गरियो। उक्त मौकामा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। रोनाल्डोले प्रहार गरेको पेनाल्टी इन्टरका किपरले बचाए पनि ‘रीबाउन्ड’मा रोनाल्डोले गोल गर्न सफल भए।

त्यसपछि खेलको ३५ औं मिनेटमा फेरि पेनाल्टी प्रदान गरियो। यस पटक भने इन्टर मिलानलाई। सो मौकाको भरपूर फाइदा उठाउँदै लुकाकुले इन्टरलाई बराबरीमा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा युभेन्टसले पुनः अग्रता लियो। जुआन क्वाड्राडोको उत्कृष्ट प्रहारले जाली चुम्दा युभेन्टसले खेलमा अग्रता लियो। क्वाड्राडोको यस सिजनको यो पहिलो गोल थियो।

दोस्रो हाफमा खेलले अझै रोमाञ्चक मोड लियो। खेलको ५५औं मिनेटमा युभेन्टसका बेन्टानकुर दोहोरो पहेंलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए। १० खेलाडीविरुद्ध निकै नै बलियो देखिएको इन्टर ८३ औं मिनेटमा खेलमा फर्कियो। युभेन्टसका डिफेन्डर तथा कप्तान चिलेनीको आत्मघाती गोल मार्फत इन्टरले खेलमा २२ को बराबरी गर्यो।

तर खेलको ८७औं मिनेटमा युभेन्टसलाई अर्को पेनाल्टी प्रदान गरियो। यसपाली भने क्वाड्राडोले कुनै गल्ती नगरी खेलमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। यसरी युभेन्टसले खेलमा एकपटक फेरि अग्रता लिन सफल भयो।

निर्धारित ९० मिनेट पछिको इन्जुरी समयमा इन्टरका ब्रोजोभिचले रातो कार्ड पाएर मैदान छोड्दा दुवै टोलीले समान १० खेलाडीमा खेल टुङ्ग्यायो।

यस जितसँगै युभेन्टसको टप ४ यात्रा जिउँदै रहेको छ। ३७ खेलमा ७५ अंकसहित युभेन्टस अंक तालिकाको चौथौं स्थानमा उक्लिएको छ। त्यस्तै ३७ खेलमा ८८ अंक बटुलेको इन्टरले सिरी एको उपाधि यस अघिनै जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?