चीनमा खाद्य संकट, समाधान गर्न निकै ठूलो चुनौती

बेइजिङ । कोरोना महामारीले थला परेका चीनले अर्थतन्त्रमा सुधार गरिरहँदा अर्को संकट थपिएको छ । चीनले खाद्य संकट टार्नका लागि राष्ट्रपति सी जिन पिङले नयाँ नीति समेत अवलम्बन गरेका छन् । तर, सरकारले जतिसुकै नयाँ नीति ल्याए पनि खाद्यान्न उत्पादनमा कमी हुँदा संकट समाधान निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

कोरोना भाइरस पहिलोदेखि दोस्रो लहरसम्म पुग्दा चीनभित्र के भइरहेको ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेको छन् ? सरकारको प्राथमिकता केमा छ भन्ने बाहिर आएको छैन । तर, चनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने, यति बेला चीनमा खाद्यान्नको चर्को संकट परिरहेको छ । चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन् ।

चिनियाँ मिडियाले कोभिड– १९ कै कारण मात्र खाद्यान्न अभाव भएको मानेका छैनन् । उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले सरकार यस्तो समस्यामा परेको दाबी गरेका छन् । भारतीय मिडियाहरूका अनुसार चीनले केही समयअगाडि भारतबाट चामल माग गरेको थियो । चिनियाँ मिडियाले कुन–कुन सहरमा खाद्यान्न अभाव परेको भने उल्लेख गरेका छैनन् ।

चिनियाँ जनता आफूलाई खान मन नपरेपछि अर्डर गरेको सिंगो प्लेट नै छाडेर जाने गर्छन् । सर्वसाधारणले यसरी खाना खेर नफालून् भनी सरकारले नयाँ नियमसमेत लागू गर्ने तयारी गरेको छ । यो विशेषतः होटेल र रेस्टुरेन्टमा लागू हुनेछ । अक्सर रेस्टुरेन्टमा आउने ग्राहकले खान त्यत्तिकै छाडेर जान्छन् । चीन सरकारले सम्भवतः अर्को महिनादेखि नै रेस्टुरेन्ट र होटेलमा खाना फ्याँक्ने ग्राहकलाई जरिवाना गराउनेछ ।

यति मात्र होइन, ग्राहकले नियम तोडेको पाएमा होटेल रेस्टुरेन्ट मालिकलाई समेत जरिवाना तिराउने सरकारको योजना छ । चिनियाँ राष्ट्रपति सी जिङपिनले सर्वसाधारणप्रति खाना सञ्चित गर्नुपर्ने भावना उत्पन्न गराउन ‘अपरेसन एम्टी प्लेट’ अर्थात् खाली प्लेट नामको अभियान घोषणा गरेका छन् । राष्ट्रपति सी जिङपिनको नीतिअनुसार जति खाने हो त्यति मात्र अर्डर गर्नुपर्नेछ ।

‘अरूले पनि खान बाँकी छ र उनीहरूको भाग पनि बचाउनुपर्छ’ भन्ने सन्देश दिन नयाँ नीति लागू गर्न खोजिएको हो । यदि यो नियमभन्दा बाहिर गएर खाना आधा वा थोरै मात्र प्लेटमा बाँकी राखेमा ती व्यक्तिले १० हजार युआन तिर्नुपर्ने हुन्छ ।

अब रेस्टुरेन्टमा हुलमुल वा समूह गरी जान नमिल्ने भएको छ । त्यसमा पनि समूहगत जाँदा मेन्युअनुसार सबै अर्डर गर्न मिल्दैन । आवश्यकताअनुसार मात्र अर्डर गर्नुपर्छ । समूहमा जाँदा प्रत्येक सदस्यले फरक–फरक खानाको अर्डर गर्नुपर्छ ।

नियमअनुसार एकै सदस्यले एकै प्रकारका खाना अर्डर गर्न पाइँदैन । चीन सरकारले खाद्यान्नभन्दा बढी माग हुन थालेपछि यस्तो नियम सार्वजनिक गरेको बताएको छ । चाइना एकेडेमी अफ साइन्सको रिपोर्टअनुसार प्रत्येक वर्ष बेइजिङ र संघाई सहरमा यति धेरै खाना डम्पिङ क्षेत्रमा फ्याँकिन्छ कि त्यो खाना पाँच करोड जनतालाई एक वर्ष खान पर्याप्त हुन्छ । सरकारले बेइजिङ र संघाईमा ‘इम्टी प्लेट’को नीति चाँडै लागू गर्ने भएको छ ।

पाँच करोड जनताको खाली पेट भराउन सरकार अग्रसर भएको हो । एकेडेमी अफ साइन्सले चीनका नागरिक बढी खाने भएकाले नै प्रत्येक वर्ष तौल बढिरहेको उल्लेख गरेको छ । धेरै खाना खाने भएकाले नै आमनागरिकको स्वास्थ्य दिन प्रतिदिन नाजुक र तौल पनि बढिरहेको एकेडेमीको रिपोर्टमा उल्लेख छ ।

यसैगरी नेसनल हेल्थ कमिसनको डाटाअनुसार चीनमा अहिले ५० करोड जनता ‘ओभर वेट’ छन् । सन् २००२ मा एक चिनियाँ नागरिकको चौडाइ ७.१ प्रतिशत थियो । अहिले सन् २०२० सम्म आइपुग्दा ती व्यक्तिको शरीरको चौडाइ १६.४ प्रतिशत भएको छ ।

चीनले खाद्यान्न उपलब्ध गराउन नसकेपछि खाद्यान्नले शारीरिकरुपमा असर परिरहेको भन्दै विभिन्न अध्ययन प्रतिवेदनहरु सार्वजनिक गरिरहेको छ । चीन खाद्यान्नमा आयातमा नै निर्भर हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?