महामारी नियन्त्रणमा सबै संयन्त्रहरुलाई परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अत्याधिक बढेको कोरोना संक्रमणको जोखिमलाई कम गर्न सबै संयन्त्रहरुलाई आफ्नो क्षमता अनुसार परिचालन गर्ने निर्णय गरेको छ ।

आज बसेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निर्णय अनुसार स्वास्थ्य प्रणालीलाई एकिकृत रुपमा महामारीविरुद्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थितीमा बसेको बैठकमा सबै पक्षका कानूनी जटिलता फुकाएर कोरोना महामारी नियन्त्रणमा लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकपछि निर्णय सुनाउँदै उनले भने- ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबै सन्चालन गर्न हाल रहेको कानूनी जटिलता फुकाएर काम गर्नेछौँ ।’

त्यस्तै आजको बैठकले खोपको तत्काल आपूर्तीका लागि सबै निकायहरुलाई निर्देशन दिएको पनि उनले जानकारी दिए । साथै देशभित्र रहेका सबै अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र उद्योगलाई बिद्युत महसुलमा सहुलियत दिने निर्णय भएको समेत उनले बताए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले महामारीबाट नेपालीहरुको ज्यान जोगाउनको लागि जस्तोसुकै कदमहरु पनि चाल्नुपर्ने बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जानु नहुनेमा जोड दिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?