विज्ञको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति : हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भनिएकोमा आपत्ती जनाएका छन् ।

शनिवार साँझ बालुवाटारस्थित सरकारी निवासमा सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भन्न नमिल्ने तर्क गरे ।

उनले भने “सिस्टम नै कोल्याब्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याब्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्‍यो । ”

सरकारका विरोधीहरुले केही पनि भएको छैन भन्ने गरेको भन्दै उनले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए । महामारीको पुर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उनले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गरे । साथै उनले सबैलाई कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह गरे ।

उनले भने, “सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायीक क्षेत्र गैह सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढंगले होइन । ”

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानविय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?