काठमाडौं। नेपाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा विकेश कुथु र तेज तामाङ परेनन्। हिजो (शनिवार) मात्रै एनएसएलको उपाधि जितेको काठमाडौं रेजर्सका कप्तान तथा गोलरक्षक विकेश र उप-कप्तान तेज दुवै राष्ट्रिय टोलीमा पर्न असफल भए।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको यस्तो अप्रत्याशित निर्णयले सम्पूर्ण नेपाली फुटबल जगतलाई अचम्मित बनाएको अवस्था छ।
नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य विकेश र तेज दुवै लामो समय देखि राष्ट्रिय टोलीमा ठूला नाम हुन्। सातदोबाटो स्थित ‘एन्फा’ परिसरमा बन्द प्रशिक्षण गरिरहेको राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक हुँदा विकेश र तेज टोलीमा नपरेका हुन्।
पहिलो सूचीमा यी दुवै जना टोलीमा सम्मिलित थिए। तर पछिल्लो सूची सार्वजनिक हुँदा केही ठूला तथा नियमित नामहरु छुटेको देखियो। एनएसएल सक्किए लगत्तै राष्ट्रिय टोलीको बन्द शत्रमा बोलाइएका सबै ३२ खेलाडीले आज (आइतवार)बाट ट्रेनिङ थालिसकेका छन्।
त्यस्तै पछिल्लो सूचीमा नाम रहेका र अहिले टोलीमा नपरेका खेलाडीहरुमा सन्जोक राई, त्रिदेव गुरुङ, अजित भण्डारी र छिरिङ गुरुङ रहेका छन्। उनीहरुको स्थानमा अल्मुताइरीले सुरज जिउ ठकुरी, कमल थापा र आयुष घलानलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएका छन्।
त्यस्तै मिडफिल्डर प्रकाश बुढाथोकी र स्यान्सु भुषालको स्थानमा नितिन थापा र पुजन उपरकोटी टोलीमा समावेश भएका छन्। प्रशिक्षक अल्मुताइरीले स्ट्राइकर आशिष लामालाई पनि टोलीमा समावेश गरेका छन्।
अजित र छिरिङको स्थानमा कुवेती प्रशिक्षक अल्मुताइरीले सुमन अर्याल र अमित तामाङलाई भरोसा गरेको देख्न सकिन्छ।
नेपालले आउँदो ‘मे २९’ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसपछि नेपालले विश्वकप छनौटको आफ्नो अन्तिम ३ खेल खेल्न कुवेत प्रस्थान गर्दैछ। नेपालले चाइनिज ताईपेइ, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल खेल्ने छ।
बन्द प्रशिक्षणका लागि डाकिएका ३२ नाम
गोलरक्षक: किरण चेम्जोङ, विशाल सुनार, दिप कार्की
डिफेन्डर: रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रञ्जित धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर: विशाल राई, मनिष डाँगी, अरीक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी,पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रविशंकर पासवान
फरवार्ड: भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया