काठमाडौं। करिम बेन्जीमाले फ्रेन्च राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
आगामी महिनामा हुने युरो कपको लागि करिम बेन्जीमा राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्।
सन् २०१५ मा राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका बेन्जीमा लामो समयदेखि राष्ट्रिय टोलीबाट बाहिर थिए। फ्रेन्च टोलीका पूर्व खेलाडी म्याथ्यु भालबुएनासँग ‘ब्ल्याकमेलिङ्ग’को काण्डमा मुछिएका बेन्जीमा त्यसपश्चात राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्।
त्यस दौरान रियल मड्रिडका लागि ३ च्याम्पियन्स लिग र १ ला-लिगा जस्ता उपाधि जित्न सफल भएका बेन्जीमा सन् २०१८ विश्वकप विजेता फ्रेन्च टोलीमा पनि समावेश थिएनन्।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियार डेसच्याम्प्सले बेन्जीमालाई यस पटकको युरो कपको लागि भने टोलीमा फिर्ता बोलाएका छन्। रियल मड्रिडका लागि यस सिजन २९ गोल गरेका ३३ वर्षीय बेन्जीमाको उत्कृष्ट फर्मलाई देखेर उनले रियल मड्रिडका स्ट्राइकर बेन्जीमालाई टिमका सहभागी गराएको जानकारी दिए।
लामो समय बेन्जीमासँग वार्तालाव गरे पश्चात डेसच्याम्प्सले उनलाई टोलीमा स्थान दिएको कुराको जानकारी दिएका छन्।
बेन्जीमाले फ्रान्सको लागि अहिलेसम्म २७ गोल गरिसकेका छन्। यस युरो कपमा बेन्जीमाबाट ठूलो अपेक्षा राखिएको छ। त्यस्तै बेन्जीमाको संलग्नताले फ्रेन्च टोलीलाई अझै बलियो बनाएको देख्न सकिन्छ। सन् २०१६ को युरो कप फाइनलमा पोर्चुगलसँग हार बेहोरेको फ्रान्स यसपालि भने उपाधि उचाल्न प्रतियोगिता खेल्दै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया