इंग्लिश प्रिमियर लिग : दुवै म्यानचेष्टर टोलीको खराब प्रदर्शन, सिटी पराजित भने युनाइटेडको बराबरी

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिग विजेता म्यानचेष्टर सिटीले ब्राइटनविरुद्ध ३-२ गोलको पराजय भोगेको छ। त्यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले घरेलु मैदानमा रेलिगेशन टोली फुल्ह्यामसँग १-१ को बराबरी खेल खेलेको छ।

ब्राइटनको घरेलु मैदानमा खेलिएको खेलमा सिटीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। कप्तान गुण्डोगानको गोलमा अग्रता लिएको सिटी १०औं मिनेटमा नै १० खेलाडीमा सीमित हुन पुग्यो। ‘फुलब्याक’ जाओ क्यान्सेलोले रातो कार्ड प्राप्त गर्दा सिटीले अधिकतम खेल १० खेलाडीमा खेल्नु परेको थियो।

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिटीले दोस्रो हाफको ४८औं मिनेटमा अग्रतालाई दोब्बर बनायो। फिल फोडेनले गोल गर्दा सिटीको अग्रता बढेको थियो। तर घरेलु टोली ब्राइटनले खेलमा पुनरागमन जित निकाल्न सफल भयो।

खेलको ५०औं मिनेटमा लिएन्द्रो ट्रोसार्डले गोल गर्दा घरेलु टोली खेलमा फर्कियो। त्यसपछी खेलको ७२औं र ७६औं मिनेटमा क्रमशः डिफेन्डरद्वय वेबस्टर र बर्नले गोल गर्दा ब्राइटनले खेल आफ्नो पोल्टामा पार्न सफल भयो।

उता म्यानचेष्टर युनाइटेडले फुल्ह्यामसँग घरेलु मैदानमै बराबरी खेल खेलेको छ। पहिलो हाफको १५औं मिनेटमा एडिन्सन काभानीले युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले मैदानको मध्य भागबाट गरेको प्रहार सिधै गोलपोस्टमा छिर्दा युनाइटेडले खेलमा अग्रता लिएको थियो। काभानीले यस उत्कृष्ट गोलसगैं लिगमा आफ्नो गोल संख्या १० बनाएका हुन्।

पहिलो हाफमा खेल म्यानचेष्टर युनाइटेडको पक्षमा गएपनि फुल्ह्यामले दोस्रो हाफमा निकै मिहेनत गर्यो। लिगबाट रेलिगेशन पक्का गरिसकेको फुल्ह्यामले ७६औं मिनेटमा बराबरी गोल गर्यो। फुल्ह्यामका लागि जोए ब्र्यानले गोल गर्दा म्यानचेष्टर युनाइटेड लगातार ३ लिग खेलमा जित विहिन हुन पुग्यो। म्यानचेस्टर युनाइटेडले गत हप्ता लेस्टर सिटी र लिभरपुलसँग पनि घरेलु मैदान मै पराजय भोगेको थियो।

त्यस्तै अन्य खेलमा लिड्स युनाइटेडले साउथह्यामप्टनलाई २० गोलले पराजित गरेको छ। साउथह्यामप्टनको घरेलु मैदानमा लिड्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो। लिड्सका लागि स्ट्राइकर ब्यामफोर्ड र रोड्रिगोले गोल गरे। ब्याम्फोर्डले यस गोल पश्चात लिगमा आफ्नो गोल संख्या १६ बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?